युरो कपको सेमिफाइनलिस्टलाई विश्वकपमा समूह चरण पार गर्नै हम्मे हम्मे

Share News

काठमाडौं (अस) । डेनमार्कलाई फिफा विश्वकपमा सबैभन्दा शक्तिशाली टोलीमध्ये एक मानिएको थियो । तर यसले अहिलेसम्म अपेक्षा गरिएअनुसार खेल्न सकेको छैन । ट्युनिसियासँगको गोलरहित बराबरी यो टिमलाई निकै महँगो साबित भएको छ । डफेन्डिङ च्याम्पियन फ्रान्ससँग डेनमार्क २ - १ ले पराजित भएको थियो । 

बुधबार समूह ‘डी’ को अन्तिम प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । जानौव रंगशालामा हुने यस खेलको विजयी टोली प्रि–क्वाटर फाइनलमा पुग्नेछ । अष्ट्रेलियालाई नकआउटमा छिर्न डेनर्माकसँग बराबरी नै पर्याप्त छ । तर डेनमार्कलाई जित्नै पर्ने बाध्यता छ । बराबरी भयो वा हार नै भयो भने प्रतियोगिताबाट बाहिरिने सम्भावना बढी छ । 

समूहको अर्को खेलमा ट्युनिसियाले फ्रान्सलाई हरायो भने चाँहि अष्ट्रेलिया र ट्युनिसियाबीच गोलअन्तरसँग हेड टु हेडको नतिजा हेरिनेछ । डेनमार्क र ट्युनिसियाले जितेको अवस्थामा यि दुई टोलीबीच नै गोल अन्तर र हेड टु हेडको नतिजामा अघिल्लो चरणमा जाने टोलीको टुंगो लाग्नेछ । 

पहिलो खेलमा फ्रान्ससँग अष्ट्रेलिया ४–१ ले पराजित हुँदा ट्युनिसियालाई १–० ले हराएको थियो । डेनमार्क ट्युनिसयासँग गोलरहित बराबरीमा रोकिदा फ्रान्ससँग २–१ ले पराजित भएको थियो । समूहमा डेनमार्क पहिलो जित निकाल्दै समूह चरण पार गर्ने योजनामा मैदान उत्रनेछ । 

अष्ट्रेलियासँग म्याट रायन, फ्रान कराचिच, काए रोवल्स, ह्यारी सटर, बेली राइट, मिलोस डेगेनेक, थोमस डेङ्ग, जोएल किंग, आरोन मोय, ज्याकसन अर्भाइन, राइली मक्ग्री, म्याथ्यु लेकी, अवेर माविल, जेमी मक्लारेन, मिचेल ड्युक, क्रेग गुडविन, जेसन कमिंगग्स जस्ता खेलाडी छन् । 

डेनमार्कसँग कास्पर स्माइकल, कजोचिम एन्डरसन, आन्द्रेस क्रिस्टेन्सन, क्रिस्टियन एरिक्सन, क्रिस्टियन नोर्गार्ड, रोबर्ट स्कोभ, आन्द्रेस स्कोभ ओल्सन, जेस्पर लिन्डस्टम, आन्द्रिएस कोर्नेलिएस, मिकेल डाम्सगार्ड आदि खेलाडी छन् ।

सन् २०२१ मा भएको युरो २०२० मा डेनमार्कले सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सेमिफाइनलमा इगल्याण्डसँग २-१ ले पराजित भएको थियो । 

अष्ट्रेलियार र डेनमार्कबीच हेड टु हेडमा डेनमार्क अघि देखिएको छ । अष्ट्रेलिया र डेनमार्कबीच भएको चार जम्काभेटमा एउटा खेल बराबरीमा सकिएको छ । डेनमार्क दुई खेलमा विजयी हुँदा अष्ट्रेलियाले एक खेल जितेको छ । एजेन्सी 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।