लघुवित्तका ऋणी कालोसूचीमा

Share News

लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई तोकिएको समयसम्म कर्जा नतिर्ने ऋणीलाई संस्थाको अनुरोधमा कर्जा सूचना केन्द्रले कालोसूचीमा समावेश गर्ने कार्य शुरू गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई तोकिएको समयमा कर्जा नतिर्ने ऋणीलाई विगतदेखि नै कर्जा सूचना केन्द्रले कालोसूचीमा समावेश गर्दै आएको भए पनि लघुवित्त वित्तीय संस्थाका ऋणीहरूलाई भने २०७९ साउनदेखि कालोसूचीमा समावेश गर्न शुरू गरेको हो । २०७९ साउनदेखि मङ्सिर ६ गतेसम्म लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएका ६७ जना खराब ऋणीहरू कालोसूचीमा परेको जानकारी कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको छ ।

चलअचल सम्पत्ति धितो, बन्धक वा अन्य आवश्यक सुरक्षण लिई वा नलिई तोकिएको समयमा ऋणको साँवा, ब्याज र हर्जाना भुक्तानी गर्नेगरी ग्राहकलाई प्रदान गरिएको रकम नै कर्जा हो । कर्जा सदैव ऋणीको दायित्व हुने भएकाले निर्धारित समयमा कर्जाको साँवाब्याज भुक्तानी गर्नु ऋणीको कर्तव्य हुन्छ । निर्धारित समयमा कर्जा भुक्तानी गर्न नसकेमा संस्थाले कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने र ऋणी सदस्य खराब ऋणीमा परिणत हुने भएकाले वित्तीय संस्था र ऋणी दुवैले समयमा नै कर्जा असुली/भुक्तानी कार्यलाई निरन्तरता दिनुपर्छ । विगतमा लघुवित्त क्षेत्रमा खराब कर्जाको अंश न्यून हुने गरेकोमा पछिल्लो समय भुक्तानी तालिकाबमोजिम कर्जा नतिर्ने प्रवृत्ति ऋणी सदस्यमा बढ्दै गएकाले लघुवित्त क्षेत्रमा खराब कर्जाको मात्रा बढ्दै गएको छ । त्यसैले खराब कर्जा असुलीका विभिन्न प्रयासअन्तर्गत लघुवित्त वित्तीय संस्थाले त्यस्ता ऋणीलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिश गर्नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

सामान्यतया ऋणीले कर्जाको साँवाब्याज समयमा नै भुक्तानी गर्ने मान्यता भए तापनि केही ऋणीहरूले परिस्थितिवश र नियतपूर्वक नै कर्जाको साँवा ब्याज नतिर्ने गरेको पाइन्छ । आफूले लिएको कर्जाको साँवा, ब्याज र हर्जानाले भाखा नाघेको १ वर्षसम्म संस्थाको सम्पर्कमा नआउने, कर्जा लिँदा राखेको धितो हिनामिना गर्ने तथा विक्री गरी कर्जा भुक्तानी गर्न चासो नराख्ने/नचाहने, कर्जा भुक्तानीका लागि भइरहेको अन्य आम्दानीको प्रयोग नगर्ने, आफूले सञ्चालन गरेको व्यवसायको बदनियतपूर्वक भूmटो विवरण पेश गर्नेलगायत कार्य गर्ने ऋणीहरू नियतपूर्वक कर्जा नतिर्ने वर्गमा पर्छन् भने ऋण तिर्ने मनसाय हुँदाहुँदै नियन्त्रणबाहिरको परिस्थिति (द्वन्द्व, प्राकृतिक प्रकोप, प्रतिकूल आर्थिक तथा व्यापारिक अवस्था आदि) का कारण र कर्जा तिर्न नसके पनि संस्थाको सम्पर्कमा रहिरहेका ऋणीहरू परिस्थितिवश ऋण तिर्न नसकेका ऋणी वर्गमा पर्छन् । उपर्युक्त ऋणीहरूमध्ये परिस्थितिवश ऋण तिर्न नसकेका ऋणीहरूको सम्पर्कमा रही संस्थाले विभिन्न उत्प्रेरणात्मक कार्यक्रममार्फत ऋण चुक्ता गर्ने प्रयासलाई निरन्तरता दिनुपर्छ । त्यसैगरी नियतपूर्वक कर्जा नतिर्ने ऋणीहरूलाई मौखिक एवम् लिखित सूचना तथा भौतिक रूपमा नै ऋणीलाई भेटेर कर्जा भुक्तान गर्नेतर्फ तरताकेता गर्ने र त्यसो गर्दा पनि कर्जा असुली हुन नसकेमा कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिश गर्ने प्रक्रिया शुरू गर्नुपर्छ ।

कर्जाको साँवा, ब्याज र हर्जानाले १ वर्षभन्दा बढी समय अवधि भाखा नाघेमा, प्रयोजन खुलाई लिएको कर्जाको सोहीअनुरूप प्रयोग नभएमा, धितो सुरक्षणको दुरुपयोग भएमा, कर्जा लिएको ९० दिनसम्म ऋणी सम्पर्कमा नआएमा, ऋणी टाट पल्टेमा, वित्तीय संस्थाले ऋणीविरुद्ध अदालतमा मुद्दा दायर गरेमा, ऋण असुल गर्ने उद्देश्यले ऋण असुली न्यायाधिकरणमा उजुरी दिएको अवस्थामा ऋणीलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिश गर्न सकिने व्यवस्था छ । यसरी सिफारिश गर्नुपूर्व ऋणीलाई कालोसूचीमा समावेश गर्नुपर्ने कारणसहित ३५ दिनभित्र कर्जा चुक्ता वा नियमित गर्न सूचना दिने र त्यसो हुन नसकेमा कालोसूचीमा समावेश गरिने बेहोरा सम्बद्ध ऋणीलाई जानकारी गराउनुपर्ने हुन्छ ।

माथि उल्लिखित कुनै वा सबै अवस्था उत्पन्न भई लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई कालोसूचीमा समावेश भएका ऋणीहरूले बैंक तथा वित्तीय संस्थामा विगतदेखि कायम रहेको खातामा रकम जम्मा गर्नबाहेक नयाँ खाता खोल्न र अन्य बैंकिङ कारोबार गर्न नपाउने, नयाँ राहदानी जारी नगर्न तथा भइरहेको राहदानी जफत गर्न लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकमार्फत नेपाल सरकारलाई अनुरोध गर्नसक्ने, कालोसूचीमा परेका ऋणीहरूको नामावली कर्जा सूचना केन्द्रको वेबसाइटमार्फत सार्वजनिक गर्नेलगायत नीतिगत व्यवस्था छ । कालोसूचीमा परेपछि आफ्नै छरछिमेकी तथा नातेदारको हेर्ने दृष्टिकोण सकारात्मक नहुने, घरपरिवारमा झगडा हुने र केटाकेटीमा नराम्रो छाप पर्ने भएकाले त्यस्ता ऋणी सदस्यको सामाजिक प्रतिष्ठामा आँच आउने अवस्था सृजना हुनुका साथै आफूले लिएको कर्जाको ब्याज तथा हर्जाना बढ्दै जान्छ । त्यसैले लघुवित्त वित्तीय संस्थाका ग्राहक सदस्यले कर्जा लिनुअघि आफूलाई आवश्यक परेको कर्जा मात्र लिने, प्रयोजन खुलाई लिएको कर्जा सम्बद्ध प्रयोजनमा मात्र प्रयोग गर्ने, भुक्तानी तालिकाबमोजिम कर्जाको साँवा, ब्याज भुक्तानी गर्नेलगायत कार्य गरेमा कालोसूचीमा पर्नसक्ने अवस्थाबाट जोगिन सकिन्छ ।

ऋणी र ऋणको सही विश्लेषण नगरी कर्जा प्रवाह गर्नु, क्रेडिट प्लसका कार्यक्रमसहित कर्जा प्रवाहलाई प्राथमिकता नदिनु, वित्तीय साक्षरताको अवस्था कमजोर हुनु, उद्देश्यमूलक कर्जा प्रवाह गर्नेतर्फ संस्था र ऋणी दुवै सचेत नहुनु, ऋणी सदस्यले आवश्यकताभन्दा देखासिकीमा कर्जा लिन उत्साहित हुनु, कर्जा मिनाहाको भूmटो हल्लाको पछि लाग्नुलगायत कारणले पछिल्लो समय लघुवित्त क्षेत्रमा खराब कर्जाको आकार बढ्दै गएको छ । कर्जा असुलीका विभिन्न उपाय अवलम्बन गर्दागर्दै खराब कर्जा असुली कार्य प्रभावकारी बन्न नसकेको परिपे्रक्ष्यमा लघुवित्त वित्तीय संस्थाले त्यस्ता ऋणीलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिश गर्ने कार्य प्रारम्भ गरेको छ । कालोसूचीमा परेपछि ऋणीले सामाजिक, आर्थिक र मानसिक रूपमा नै दबाब झेल्नुपर्ने हुन्छ । यसरी ऋणीले कर्जाको साँवा, ब्याज र हर्जाना चुक्ता गरेपछि मात्र कालोसूचीबाट हट्ने व्यवस्था भएकाले कालोसूचीमा नै समावेश नहुन माथि उल्लिखित व्यवस्थाको पालना गर्नुका साथै कर्जाको साँवाब्याज समयमा नै चुक्ता गर्नेतर्फ ऋणी सदस्य सदैव सजग रहनुपर्ने देखिन्छ ।

लेखक लघुवित्तसम्बन्धी जानकार हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।