काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुस ७ गते ३६औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मङ्सिर ११ गतेको सञ्चालक समिति बैठकले काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त दिन बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल ११ प्रतिशत लाभांश र मेगा बैंकसँगको मर्जर प्रस्तावलाई समेत स्वीकृति दिनेछ ।
यस वर्ष बैंकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मेगा बैंकसँगको मर्जर प्रक्रियामा रहेको बैंकले मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले मङ्सिर २१ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मङ्सिर २० गतेसम्म कारोबार भई मङ्सिर २९ गतेभित्र बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त नामसारीको लिखतको आधारमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।