टेन ह्यागसँगको टकरावपछि क्लब गुमाएका रोनाल्डो २० करोड यूरोमा जालान् त अल–नासर ?

Share News

म्यान्चेष्टर युनाइटेड (म्यान यू)सँगको सम्झौता रद्द भएयता क्लबबिहिन बनेका पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई साउदी अरबको फुटबल क्लब अल नासरले क्लबमा आउन प्रस्ताव गरेको छ । हरेक सिजनका लागि तलब र विज्ञापन सम्झौताहरु समेत गरेर क्लबले रोनाल्डोलाई २० करोड यूरो दिने प्रस्ताव गरेको छ ।

रोनाल्डो सम्झौतामा हस्ताक्षरको निकट भएको भन्दै एक हप्ता अगाडि नै मार्काले समाचार प्रकाशित गरेको थियो । यो सम्झौता साढे २ ओटा सिजनका लागि भएको बताइएको छ । म्यान यूका व्यवस्थापक र कोचहरुसँगको द्वन्द्वपछि उनले हालै मात्र क्बलसँगको सम्भौता रद्द गरेका थिए ।

क्लबका व्यवस्थापक टेन ह्यागसँगको टकरावपछि उनले क्लब गुमाउनु परेको थियो ।  पछिल्लो समय साउदी अरबको फुटबल फक्रिँदैछ । यहाँका नेताहरुले घरेलु फुटबल प्रतिस्पर्धा रिलञ्च गर्न खोजिरहेका छन् । रोनाल्डो साउदी अरबको क्लबमा आए भने यसले अन्तरराष्ट्रिय सञ्चार माध्यममा समेत प्रतियोगितालाई राम्रो कभरेज दिनेछ ।

गएको गर्मी याममा पनि साउदी क्लबले रोनाल्डोसमक्ष प्रस्ताव लिएर गएका थिए । रोनाल्डो म्यान यूमा अनुबन्धित भएकोले करारको कुरा अगाडि बढ्न सकेन । तर अहिले भने अल नासरको बाटोमा कुनै कानूनी अवरोध छैन । रोनाल्डोको वकिलहरुको टोलीले प्रस्तावको अध्ययन गरिरहेको अनि विश्वकप सकिएपछि यसको निर्णय हुने बताइएको छ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।