काठमाडौं (अस) । कतार विश्वकपको अन्तिम १६ मा जाने सम्भावना जापानसँग अहिले पनि छ । तर यसको लागि आज राति हुने खेलमा उसले २०१० को विश्वकप विजेता स्पेनलाई हराउनै पर्छ ।
दुई खेलपछिको अंकतालिकामा स्पेन समूहमा पहिलो र जापान दोस्रो स्थानमा छ । यी दुई टोलीले बराबरी खेले भने यिनीहरुको भाग्य जर्मनी र कोष्टारिकाबीचको खेलको नतिजामा पनि भर पर्छ ।
अन्तिम १६ मा जान जापानले निकै अप्ठ्यारो बाटो समातेको छ । पहिलो खेलमा जापानले चार पटकको विश्वकप विजेता जर्मनीलाई २–१ ले हराएको थियो । दोस्रो खेलमा कोष्टारिकासँँग ०–१ ले हार्नु उसको लागि निकै महँगो साबित बन्न सक्छ । यस पटकको विश्वकपमा अहिलेसम्मको खेलमा जापान निकै अकल्पनीय बनेको छ ।
समूह ईमा २ खेल खेल्दा ३ अंक जोडेको जापान स्पेन पछि दोस्रो स्थानमा छ भने अंक तालिकामा यो कोष्टारिकासँग बराबरी छ । स्पेन र जर्मनीले १–१ को बराबरी खेल्दा पनि जापानको सम्भावना अहिलेसम्म कायम देखिएको छ । बुधवार राति स्पेनसँग जापानले बराबरी खेल्यो भने कोस्टारिकाले जर्मनीसँग हारे वा बराबरी खेल्दा मात्रै जापान अगाडि जाने देखिन्छ । कोष्टारिकाको तुलनामा गोल अन्तर राम्रो भएकोले पनि जापानको सम्भावना बलियो भएको हो ।
पहिलो खेलमा स्पेनसँग कोस्टारिका ७-० ले हारेको थियो । समूहमा कोष्टारिका तेस्रो स्थानमा छ भने १ अंकसहित जर्मनी पुछारमा छ । यस्तोमा विश्वकपमा जापानको तीन ओटा सम्भावना छ । पहिलो जापानले स्पेनलाई जित्यो भने ६ अंक बनाएर शीर्ष दुई स्थानमा रहँदै अन्तिम १६ मा पुग्नेछ । कोष्टारिका र जर्मनीबीचको खेल जस्तो भएपनि जापानको नकआउट यात्रा पक्का हुन्छ ।
जापानले स्पेनसँग हार्यो भने यो स्वतः विश्वकपबाट बाहिरिनेछ । जापानले स्पेनसँग बराबरी खेल्यो भने यसको नकआउट यात्रा कोष्टारिका र जर्मनीको खेलमा निर्भर हुनेछ । कोष्टारिकाले जर्मनीलाई हरायो भने ६ अंकसहित यो अर्को चरणमा जानेछ । जापान विश्वकपबाट बाहिरिने छ । जर्मनी र कोष्टारिकाले बराबरी खेले भने जापान र कोष्टारिका दुबैको बराबरी हुनेछ । तर जापानको गोल अन्तर शून्य अनि कोष्टारिकाको माइनस ६ हुँदा जापानको नकआउट यात्रा सहज हुनेछ ।
जर्मनीले कोष्टारिकालाई हरायो भने जर्मनी र जापानको बराबरी ४ अंक हुनेछ । गोल अन्तरका आधारमा जर्मनी नकआउटमा छिर्नेछ । जर्मनीले कोष्टारिकालाई एक गोलले मात्रै हरायो भने जर्मनी र जापानको गोल अन्तर पनि बराबर हुनेछ । कूल गोलको आधारमा नकआउटमा जाने टोली घोषणा गरिनेछ । र यसमा पनि दुबै टिमको कूल गोल उही हुनेछ । जर्मनीसँगको जम्काभेटमा जापानले उसलाई हराएकोले जापान अगाडि जान पाउनेछ ।
अघिल्लो विश्वकपमा जाापन र स्पेन दुबै नक आउटबाटै बाहिरिएका थिए । जापानलाई बेल्जियमले ३–२ ले हराएको थियो । स्पेनले भने आयोजक रुससँग पेनाल्टीमा हारेको थियो । स्पेन सन् २०१० को विश्वकप इतिहास दोहोर्याउने दाउमा छ । जापानी टोलीमा आर्सनलका ताकेहिरो तोमियासु हेर्न लायक खेलाडी हुन् । तर उनी खेल्लान् कि नखेल्लान् हेर्न बाँकी नै छ । हिरोकी साकाई पनि चोटसँग जुधिरेहका छन् ।
यस्तोमा मैदानमा उनी कम समय देखिन सक्छन् । जर्मनी र कोष्टारिका विरुद्धको दुवै खेलमा खेलेका मिडफिल्डर वातारु इन्दो पनि घुँडाको चोटका कारण स्पेनसँग नखेल्ने सम्भावना छ । जापानी टोलीमा तानाका मोरिता, दोआन ,कुबे आशा लाग्दा खेलाडी छन् । स्पेनी टोलीमा गाभी छन् । तर उनी जर्मनीको खेलमा मैदानमा नआउन पनि सक्छन् । खेलाडीको स्वास्थ्य अवस्थालाई हेरेर स्पेनी कोचले मैदानमा खेलाडीहरू फेर्ने देखिन्छ ।
स्पेनी टोलीमा सिमोन, कार्भाजाल,टोरेस, लोर्पोते, ओल्मो छन् । अहिलेसम्म स्पेन र जापानबीच अन्तरराष्ट्रिय खेलमा एक पटक मात्रै जम्काभेट भएको छ । यो खेलमा स्पेनले १–० को अन्तरले जितेको छ । एशियामै भएको विश्वकपमा धेरैजसो एशियाली देशको अन्तिम १६ मा जाने सम्भावना सकिएको छ । यस्तोमा आशा गरिएको टोली जापान नै हो । स्पेनलाई हरायो भने अगाडि बढ्ने जापानको सम्भावना पनि छ । के जापान एशियाबाट नकआउट पुग्ने पहिलो टोली बन्ला ? एजेन्सीहरुको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।