काठमाडौं । सन् २०२२ को नोभेम्बर २१ तारिखबाट शुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा हुँदैछ । प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ ओटा राष्ट्र प्रतिष्पर्धा गरेका थिए । जसमा हालसम्म प्रि - क्वाटर फाइनलमा पुग्ने १६ ओटा राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
अब प्रि–क्वाटर फाइनलका खेलहरू शुरु हुँदै छन् । कतारमा भइरहेको फिफा विश्वकप हेर्नेहरूको भीड विश्वभर नै छ । नेपालमा पनि फिफा विश्वकप हेर्नका लागि होटल, रेष्टुराँहरु राति प्रायः बुक हुने गरेका छन् । फिफा विश्वकप शुरु भएयता काठमाडौंका होटल व्यवसाय मात्र होइन अरु व्यवसायको आर्थिक गतिविधि बढेका छन् । होटल, रेष्टुराँ मात्रै होइन सडकमै प्रोजेक्टर राखेर विश्वकप हेर्ने जमात पनि कम छैन ।
यस पटकको विश्वकप विगतभन्दा रोचक पनि बनिरहेको छ । फुटबलका महारथी मानिने देश कमजोर मानिएका देशहरुसँग पराजित भइरहेका छन् ।जसकारण नकआउट चरणमा पुगेका देशको समीकरण पनि हेर्न लायक छ । आफ्नो मन परेको टिमलाई साथ, सहयोग गर्न रातभर जागा बसेर पनि समर्थकहरू विश्वकपका हरेक खेलह हेर्न छुटाउँदैनन् ।
घरमा ल्यापटप, कम्प्युटर, मोबाइलमा हेर्नुभन्दा नजिकको होटलमा गएर प्रोजेक्टरमा खेल हेर्नुको मज्जा नै बेग्लै हुन्छ । त्यसैले पनि होला काठमाडौं उपत्यकाका विभिन्न होटलहरू राति पर्यटकहरूले होइन विश्वकप हेर्नेहरूले भरिभराउ देखिन्छन् ।
होटलमै पाटी र रमाइलो गर्दै विश्वकपको मज्जा लिन युवा चुक्दैनन् । होटलहरूले पनि विश्वकपका लागि छुट्टै प्याकेज निकालेका छन् । यतिबेला होटलमा मात्रै विश्वकप सीमित भने छैन । जाडोमा घरको आँगनमा नै प्रोजेक्टर राखेर हेर्नेहरूको जमात पनि बाक्लै छ । फिफा विश्वकप २०२२ को यो अवसरमा विश्वकप हेर्नेहरूको गतिविधि यसरी क्यामेरामा कैद गर्ने प्रयास गरिएको छ ।
तस्वीर : न्यूज एजेन्सी नेपाल
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।