काठमाडौं । कतार विश्वकपको नकआउट चरणको पहिलो खेलमा शनिवार नेदरल्यान्ड र अमेरिका आमनेसामने हुँदैछन् । समूहचरणको खेलमा नेदरल्यान्डले एउटै खेल हारेन । दुई खेल जित्दा नेदरल्यान्डको एक खेल बराबरीमा टुङ्गियो । अमेरिकाले पनि एउटै खेल हारेन । दुई बराबरी र एक जित हात पार्यो ।
डच टोलीले शुरुको खेलमा सेनेगललाई २–० को अन्तरले हराउँदा इकवेडरसँग १–१ को बराबरी खेल्यो । अनि आयोजक कतारलाई २–० ले हरायो । अमेरिकाले बेलायत र वेल्ससँग बराबरी खेल्दा इरानलाई १–० ले हरायो ।
विश्वकपमा अमेरिका र नेदरल्यान्ड दुबै ८ वर्षमा पहिलो पटक खेल्दैछन् । अघिल्लो विश्वकपमा दुबै टोलीले क्वालिफाइङ चरण पार गर्न सकेनन् । नेदरल्यान्ड समूह एको शीर्ष स्थानमा थियो भने अमेरिका दोस्रो । समूह चरण सकिएलगत्तै अब प्रतिस्पर्धामा सहभागी देशहरु ‘गर कि मर’ को अवस्थामा छन् ।
समूह चरणमा सुदृढ प्रदर्शन गरेको डच टोली अमेरिकालाई हराउनेमा विश्वस्त छ । कतार विश्वकपको अहिलेसम्मको खेलमा नेदरल्यान्डले ८ पटक मात्रै गोल हान्ने अवसर जुटायो । तर सबैभन्दा धेरै अंक बटुल्ने टोलीहरुमा पर्दछ । सन् २०१४ को विश्वकपमा नेदरल्यान्ड तेस्रो स्थानमा समेटिएको थियो । सन् २०१० को विश्वकपमा नेदरल्यान्ड रनर अप थियो ।
अमेरिकाले दुई बराबरी र एक जित खेलेर अन्तिम १६ मा पुगेको हो । प्रतिरक्षा कौशल निकै राम्रो भएपनि तीन खेलमा अमेरिकाले जम्मा २ गोल मात्रै बटुल्न सक्यो । अमेरिकाको सबैभन्दा ठूलो उपलब्धि इराननलाई हराउनु मात्रै भयो । नकआउट खेलमा पनि यसले प्रतिरक्षा रणनीतिकै भर गर्नेछन् । तर अगाडि बढ्ने हो भने नकआउटमा गोल गर्नै पर्छ ।
सन् २००२ यता अमेरिका क्वाटरफाइनल पुग्न सकेको छैन । सन् २०१० मा अमेरिका घानासँग अतिरिक्त समयमा पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको थियो । सन् २०१४ मा यही चरणमा अमेरिकी टिम बेल्जियमसँग पराजित भयो । सन् २०१८ मा अमेरिकाले त्यति पनि गर्न सकेन ।
डच टिम जत्तिको बलियो प्रतिद्वन्द्वीको सामना गर्न अनि हराउन योजना बनाइरहेको अमेरिकी टोलीका ग्रेग बेरहाल्टरले भनेका छन् । अमेरिकाले अहिलेसम्म नेदरल्यान्ड्सको पाँचपल्ट सामना गरेको छ । ती सबै मैत्रीपूर्ण खेल हुन् । त्यसमध्ये सन् १९९८ मा घरमै पराजित रह्यो भने सन् २००४ र २०१० मा एमस्ट्रर्डममा पनि हारको सामना गरेको थियो । सन् २०१५ मा एमस्ट्रर्डममा एरिना भएको खेलमा भने नेदरल्यान्ड्समाथि ४–३ को जित निकालेको थियो ।
बेरहाल्टरलाई डच फुटबलबारे धेरै कुरा थाहा छ । उनले आफ्नो व्यवसायिक फुटबलको शुरुआत २८ वर्ष अघि नेदरल्यान्डबाटै गरेका हुन् डच फुटबलको अनुभव बटुलेका अन्य खेलाडी पनि अमेरिकी टोलीमा छन् । नेदरल्यान्डको भेटेरान कोच लुइस भान गाल छन् । गालको नेतृत्वमा डच टिमले विश्वकप खेल्न थालेको यो तेस्रो पटक हो । यो विश्वकपमा डच टिम लयमा देखिएको छ । १८ खेलमा यसले अपराजित यात्रा गरेको छ ।
समूह चरणको खेलमा अमेरिकाको लागि क्रिष्चियन पुल्सिकको एक गोलको साहारामा अमेरिका नकआउटमा उक्लियो । नकआउट खेलमा पनि धेरैको ध्यान पल्सिकमै रहनेछ । वेष्टन म्याककिन्नी, युनुस मुसा, कप्तान टेलर एडम्सले पनि समूह चरणका कयौं खेलमा दर्शकलाई अचम्भित बताएका छन् । प्रभावशाली स्ट्राकरको अभावले अमेरिकी आक्रमणलाई अपाङ्गो बनाएको छ ।
डच टोलीका लागि तीन गोल गरेका कोडी ग्याक्पो अहिलेसम्म सर्बाधिक गोलकर्ता खेलाडी हुन् । भर्जिल भान डिज्क डच टोलीका लागि मेरुदन्ड हुन् । नेदरल्यान्डको प्रतिरक्षा लाइनका यिनी मुख्य खम्बा हुन् । समूह चरणका खेलमा डे जोङले राम्रो खेलेका छन् । एक गोल गर्दा जोङले एक गोल सधाएका छन् । पहिलो तीन खेलमा नेदरल्यान्डले ८ पटक मात्रै गोल गर्न अवसर जुटाउन सक्यो ।
मेहम्फिस डिपे र ग्याक्पो जस्ता बलिया स्ट्राइकर हुँदा पनि डच टोलीले बल हान्ने अवसर जुटाउन सकस भयो । अहिलेसम्मको खेलमा दुबै टोलीले विपक्षीलाई एक पटक मात्रै बल हान्ने अवसर दिएका छन् । डच टोलीमा ग्याक्पो र डिपे निकै प्रभावशाली र कुशल छन् । अघिल्लो चरणमा पुग्न अमेरिकाले विरतापूर्ण प्रयास गर्नु पर्ने देखिन्छ । एजेन्सीहरुको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।