अर्जेन्टिनालाई अर्को एशियाली देशको चुनौती, 'मेस्सी खेल्दैछन् करियरको १००० खेल'

Share News

काठमाडौं । कतार विश्वकपमा अर्जेन्टिनाको समूह चरणको यात्रा विजेताको रुपमा सकियो । नकआउट चरणमा अर्जेन्टिनाले फिफाको वरियतामा ३८ औं स्थानमा रहेको देश अष्ट्रेलियाको समना गर्दैछ ।

अष्ट्रेलियाले सन् २००६ पछि पहिलोपटक नकआउट चरण खेल्न लागेको हो । यी दुई देशमध्ये जसले जितेपनि उसले क्वाटरफाइनलमा नेदरल्यान्ड वा अमेरिकाको सामना गर्नु पर्नेछ ।

समूह चरणको खेलमा अर्जेन्टिनाले २ खेलमा जित हात पार्दा एक खेलमा हारेको थियो । समूह चरणको खेलको शुरुआत नै झुर भयो । साउदी अरबसँग हार्न पुग्यो । साउदी अरबसँग अर्जेन्टिनाको हार विश्वकप इतिहासकै अप्रत्यारिलो क्षण मध्येमा पर्दछ । तर मेक्सिकोसँगको खेलमा टोलीको मूड फेरियो । पोल्यान्डसँगको प्रतिस्पर्धासम्म आइपुग्दा अर्जेन्टिनाको प्रदर्शनमा निकै सुधार आइसकेको थियो । खेलाडीहरुको मनोबल स्तर पनि बढेको देखिन्थ्यो । यो सुधार अनि मनोबल अष्ट्रेलियालाई नकआउटबाटै घर फर्काउन पर्याप्त होला कि नहोला ?

कतार विश्वकपमा अष्ट्रेलियाको समूह चरणको यात्रा पनि अर्जेन्टिनाको जस्तै नै रह्यो । फ्रान्स र डेनर्माक जस्ता टोली भएको समूहबाट अन्तिम १६ मा आउनु अष्ट्रेलियाको ठूलो सफलता हो । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग हार बेहोरेको अष्ट्रेलियाले बाँकी दुई खेलमा ट्युनिशिया र डेनमार्कलाई हराएर नक आउटमा आइपुगेको हो ।

तर गोल अन्तरका कारण समूहको अंकतालिकामा यो फ्रान्सभन्दा मुनी रह्यो । नकआउटमा अष्ट्रेलियालाई हराउन अर्जेन्टिनालाई त्यति सहज भने पक्कै हुने छैन । अष्ट्रेलियालाई हराएर अगाडि बढ्ने हो भने लियोनल मेसीको टोलीले राम्रो खेल्नै पर्छ, लयमै रहनु पर्छ । अष्टेलियाले सन् २००६ यता पहिलो पटक अन्तिम १६ मा पुगेको हो । यस्तो भएको उसको इतिहासमा यो दोस्रो पटक हो । १६ वर्ष अघिको तुलनामा ग्राहम आर्नोल्डको टोली थप अगाडि जाने आशामा छ । विश्वकपमा अर्जेन्टिना र अष्ट्रलेलिया भिड्न लागेको यो पहिलो पटक हो ।

विश्वकपको नकआउट चरणमा अर्जेन्टिनाले खेलेका १५ मध्ये ८ खेल अतिरिक्त समयमा पुगेको थियो । कन्फेडेरेसन कप र मैत्रीपूर्णसहित यी दुईले ७ खेल खेलेका छन् । जसमा अर्जेन्टिनाले ५ खेल जितेको छ भने अस्ट्रेलियाले एक खेलमा सफलता पाएको छ । एक खेल बराबरी भएको थियो । विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनाले पछिल्ला आठमध्ये ६ खेल जितेको छ ।

दुवै टोलीले ‘फिट’ खेलाडीहरुलाई मैदानमा उतार्नेछन् । तर क्वाटरफाइनलमा टोलीको यात्रा पक्का गर्न दुबै टोलीमा मैदानमा खेलाडी हेरफेर गर्ने देखिन्छ । अर्जेन्टिनी टोलीबाट मेसी मैदानमा नउत्रिने कुरै भएन । यो उनको करियरको १ हजारौं खेल हुनेछ । मेक्सिको विरुद्धको खेलमा मेसीले म्यान अफ दि म्याचको उपाधी हात पारेका थिए । अलेक्सि म्याक अलिष्टर र जुलियान अल्भारेज पनि आशा गरिएको खेलाडी हुन् ।

अष्ट्रेलियाको टिममा ह्यारी साउटर अहिलेसम्मका स्टार प्लेयर बनेका छन् । फ्रान्ससँगको खेलमा चार गोल खाएको अष्ट्रेलियालाई क्लिन शिट दिलाउन साउटरको गोलले सघायो । योसँगै अष्ट्रेलियाले विश्वकपमा लगातार दुई गेम जितेको रेकर्ड पनि बनाएको छ । एजेन्सीहरु 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।