काठमाडौं । उत्तर अमेरिकी च्याम्पियन अर्जेन्टिनाले पछिल्लो पटक विश्वकप जितेको सन् १९८६ मा हो । मेक्सिकोमा आयोजना भएको उक्त विश्वकपको फाइनलमा अर्जेन्टिनाले जर्मनी (वेस्ट जर्मनी) लाई ३-२ गोल अन्तरले पराजित गरेर उपाधि जितेको थियो ।
त्यसको ठिक एक वर्षपछि १९८७ जुन २४ मा अर्जेन्टिनी सुपर स्टार लिइनेल मेस्सीको जन्म भएको हो । उनले १९९० देखि २००२ सम्मका ४ ओटा विश्वकप घरमै बसेर हेरेका छन् । २००६ देखि २०२२ सम्मका ५ ओटा विश्वकप मेस्सी आफैले खेलेका छन् । २००६ मा पहिलो विश्वकप खेलेका मेस्सीले २०१४ मा टिमलाई फाइनलमा पुर्याए पनि उपाधि दिलाउन सकेनन् ।
अर्जेन्टिना उनले खेलेका पछिल्ला ५ मध्ये ४ विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सन् २००६ यता आयोजना भएका विश्वकपमध्ये रसिया विश्वकप २०१८ मा मात्रै अर्जेन्टिना प्रि-क्वाटरफाइनलबाटै घर फर्केको थियो । त्योबाहेक २०१४ को विश्वकपमा उपविजेता र अन्य विश्वकपमा कम्तीमा पाँचौंदेखि छैटौं स्थानसम्म पुगेको छ ।
यो अर्जेन्टिनी स्टार मेस्सीको अन्तिम विश्वकप पनि हो । उनले उपाधि जित्न सकेनन् भने अर्जेन्टिनाले उपाधिका लागि कम्तीमा ४ वर्ष त कुर्नैपर्छ । त्यो विश्वकपमा मेस्सी मैदानमा हुने छैनन् ।
मेस्सीले खेलेको पहिलो विश्वकपमा अर्जेन्टिना छैटौं भएको थियो । दोस्रो विश्वकपमा पाँचौ भएको थियो । तेस्रो विश्वकपमा अर्जेन्टिना फाइनलमा पुगेपनि उपाधि चुम्न सकेन । चौथो विश्वकपमा प्रि-क्वाटरफाइनलमा अर्जेन्टिना फ्रान्ससँग ३-४ गोलअन्तरले पराजित भएर घर फर्केको थियाे ।
पाँचौं विश्वकपमा भने मेस्सीको टिम फेरि क्वाटरफाइनलमा पुगेको छ । प्रि-क्वाटर फाइनलमा अष्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्डसँगको भेट पक्का गरेको छ ।
२०१० मा भएको दक्षिण अफ्रिका विश्वकपमा जर्मनीसँग ४-० गोलअन्तरले पराजित हुँदै अर्जेन्टिना घर फर्किएको थियो । २०१४ मा नेदरल्यान्डलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा हराएर अर्जेन्टिना फाइनलमा प्रवेश गरेको थियो । त्यसपछि यी दुई टोली पहिलोपटक विश्वकपमा आमनेसामने हुँदै छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।