काठमाडौं । जारी फिफा विश्वकपको प्रि–क्वाटरफाइनलमा आइतवार (आज) पोल्याण्डले दुई पटकको विश्वविजेता एवं प्रतियोगिताको उपाधि दाबेदार टोली फ्रान्सको सामना गर्दैछ । यस्तोमा फ्रान्सले लगातार तेस्रो पटक क्वाटरफाइनलमा पुग्ने दाउमा हुनेछ । फ्रान्स सन् २०१४ यता लगातार क्वाटरफाइनलमा पुगेकाे छ । फ्रान्सलाई याे सफलता कायम राखिराख्न काइलिन म्बापे, ओलिवर गिरौड र एड्रियन रेयिबोटको भर रहने छ ।
यता पोल्याण्ड भने सन् १९८२ को विश्वकपको इतिहास दोहोर्याउने प्रयासमा रहनेछ । उक्त विश्वकपमा पोल्याण्डले फ्रान्सलाई ३–२ ले हराएको थियो । उक्त विश्वकपपछि पोल्याण्ड क्वाटरफाइनल पनि पुग्न सकेको छैन । पोल्याण्डलाई जित दिलाउन कप्तान एवं फरवर्ड रोबर्ट लेवान्डोवस्की र मिडफिल्डर पियोतर जिलिन्स्कीले राम्रो प्रदर्शन गर्नुपर्नेछ ।
यस्तोमा कुन टोली आज अन्तिम ८ मा पुग्ला ? फुटबलप्रेमीमाझ चासोको विषय बनेको छ । यसको आकलनका लागि जारी विश्वकपको प्रदर्शनसँगै ओभरअल प्रदर्शनको विश्लेषण गर्नुपर्ने हुन्छ ।
समूह चरणको प्रदर्शनमा फ्रान्स अगाडि
जारी विश्वकपको प्रदर्शनका आधारमा फ्रान्सको पलडा भारी देखिन्छ । समूह ‘डी’को विजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको उसले जारी विश्वकपको समूह चरणका ३ खेलमध्ये २ मा जित निकाल्दा १ खेलमा पराजय भोगेको थियो ।
पोल्याण्डले भने समूह ‘सी’को उपविजेताका रूपमा प्रि–क्वाटरफाइनलमा स्थान बनाएको थियो । उसले समूह चरणका ३ खेलमध्ये १ मा मात्रै जित निकाल्दा १ खेलमा बराबरी र १ खेलमा पराजय भोगेको थियो ।
वरीयतामा पनि फ्रान्स नै
ओभरअल प्रदर्शनका आधारमा निर्धारण गरिने फिफा वरीयतामा पनि पोल्याण्डभन्दा फ्रान्स नै अघि देखिन्छ । फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा फ्रान्स चौथो स्थानमा रहँदा पोल्याण्ड २६ औ स्थानमा छ ।
हेड टु हेडमा पनि फ्रान्सकै दबदबा
यी दुई टोलीबीचको हेड टु हेड खेलमा पनि फ्रान्स अघि देखिएको छ । यी दुई टोलीबीच अहिलेसम्म भएका १६ खेलमा फ्रान्सले ८ खेलमा जित हासिल गरेको छ । पोल्याण्डले भने ३ खेलमा मात्रै आफ्नो पक्षमा नतिजा निकालेको छ । यी दुई टोलीबीचका ५ खेल भने बराबरीमा सकिएका छन् ।
विश्वकपमा कुन देशको कस्तो प्रदर्शन ?
विश्वकपको प्रदर्शनमा पनि फ्रान्सकै पलडा भारी देखिन्छ । उसले अहिलेसम्म खेलेका प्रि–क्वाटरफाइनलमा ६ खेल जितेको छ भने १ मा मात्रै पराजय भोगेको छ । यता पोल्याण्डले भने अहिलेसम्म अन्तिम १६ का खेल जित्न सकेको छैन । उसले अहिलेसम्म खेलेका अन्तिम–१६ मा २ खेल खेलेको छ ।
यस आधारमा फ्रान्सको जित्ने सम्भावना बढी देखिन्छ । तर, राम्रो खेलेमा नतिजा पोल्याण्डको पक्षमा नजाला पनि भन्न सकिँदैंन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।