काठमाडौं । डिफेन्डिङ च्याम्पियन फ्रान्स पहिलो पटक लगातार तीन विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेले अलराउन्ड प्रदर्शन गरेपछि फ्रान्स लगातार तीन विश्वकपको क्वाटर फाइनलमा पुगेको हो ।
१९९८ को समेत विजेता रहेको फ्रान्स २००२ मा समूह चरणबाटै बाहिरिएको थियो । २००६ को फाइनलमा इटलीसँग पराजित भएको फ्रान्स २०१० मा फेरि समूह चरणबाटै बाहिरिएको थियो ।
२०१४ मा क्वाटर फाइनलसम्म पुगेको फ्रान्सले २०१८ मा दोस्रो पटक विश्वकपको उपाधी उचालेको थियो ।
२०२२ को विश्वकपमा क्वाटर फाइनलमा प्रवेश गरेसँगै फ्रान्स फुटबलको इतिहासमा पहिलोपटक लगातार तीन विश्वकपको क्वाटर फाइनल प्रवेश गरेको हो ।
फ्रान्सलाई क्वाटर फाइनलमा पुर्याउन पहिलो हाफको अन्त्य तिर एम्बाप्पेको पासमा जिरुडले गोल गरेका थिए । दोस्रो हाफको ७३ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सको जित निश्चित गरेका थिए । एम्बाप्पेले डेम्बेलेको पासमा डीबक्स नजिकैबाट गोल गरेका थिए ।
त्यस्तै खेलको इन्जुरी समयको पहिलो मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेका थिए । यो संगै उनी जारी विश्वकपमा गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा उक्लिएका छन् । उनको गोल संख्या ५ पुगेको छ । विश्वकपमा सर्वाधिक गोल गर्नेको सूचिमा अन्य खेलाडीको गोल संख्या मात्र ३ रहेको छ ।
खेलको अन्तिम मिनेटमा पोल्यन्डले पेनाल्टी पाएपछि लेवान्डेस्कीले १ गोल फर्काएका थिए । खेल फ्रान्सले ३-१ गोल अन्तरमा जित्यो । फ्रान्सबाट भएका तीन ओटै गोलमा एम्बाप्पे नायक बनेका थिए ।
यो सँगै जिरुड फ्रान्सको लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि भएका छन् । पोल्याण्ड विरुद्ध जिरुडले गरेको गोल उनको करियरको ५२ औं गोल हो । यस अघि यो रेकर्ड थियरी हेन्रीको नाममा रहेको थियो । उनले १२३ खेलमा ५१ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाएका थिए । अब यो रेकर्ड जिरुडको नाममा गएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।