हाइड्रोजन यातायात सञ्चालन गर्न अझै ६ महीना लाग्ने, 'रिफिल स्टेशन' बनाउन कोरियन कम्पनी इच्छुक

Share News

काठमाडौं । काठमाडौं विश्वविद्यालयले अघि सारेको हाइड्रोजनबाट गाडी चलाउने योजना ६ महीना पर सरेको छ ।

पुरानो गाडीको इन्जिन फेरेर हाइड्रोजन ऊर्जाको माध्यमबाट चलाउने केयूको योजनामा रिफिल स्टेशनको गुणस्तरमा कुरा नमिलेपछि उक्त काम कम्तिमा ६ महीना पर सरेको हो ।

बढ्दो इन्धन आयातमा विकल्पन दिने र बर्षेनी वर्षायाममा खेर जाने जलविद्युत पनि उपयोग गर्ने गरी अघि सारिएको हाइड्रोजन ऊर्जा उत्पादन र प्रयोगको काममा हतार गरे १० औं वर्ष पछि पर्ने भन्दै ढिलो भएपनि सुरक्षित तरिकाले काम गर्ने केयूको भनाइ छ ।

केयूले पुरानो कारको इन्जिन फेरेर विद्युतीय सवारी बनाएपनि हाइड्रोजनबाट चल्ने बनाउनको लागि रिफिलिङ स्टेशनको समस्या भएको छ ।

रिफिल स्टेशन बनाउँन थप अध्ययन र लगानी गर्नुपर्ने भएपछि हाइड्रोजन ऊर्जाबाट नियमित रुपमा गाडी चलाउने योजना पर सरेको केयूको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापाले बताए ।

रिफिल स्टेशनको स्ट्यान्डर्ड विश्व स्तरकै बनाउन लागेकाले हाइड्रोजन यातायता सञ्चालनको कार्यतालिका पर सरेको उनले स्पष्ट पारे ।

‘स्टेशन निर्माणमा सानो गल्ती भयो भने पनि एकतिर हामीले अहिलेसम्म गरेको मेहनेत जति खेर जान्छ । अर्को तिर नेपालमा हाइड्रोजन उत्पादन र प्रयोगको काम कम्तिमा एक दशक पर धकेलिन्छ ।’ थापाले भने, ‘बरू ढिलो होस तर सुरक्षित काम होस भनेर हामीले हाइड्रोजन गाडी चलाउने योजनामा हतार गरेका छैनौं ।’ 

भवितव्य भए देश १० वर्ष पछाडि पर्ने भन्दै उच्च गुणस्तरीय रिफिल स्टेशनको खरीद प्रक्रिया शुरू गर्न लागिएको थापाले बताए । 

उनका अनुसार अहिले रिफिल स्टेशन निर्माणको लागि ७/८ ओटा कम्पनीसँग कुरा भएको र त्यो मध्ये कोरियन कम्पनीसँगको छलफल नतिजामुखी भएको छ ।

'भारतिय टाटा कम्पनीले पनि हाइड्रोजनमा काम गरिरहेको छ । हामीले त्यता पनि सहकार्य गर्ने बारेमा बुझिरहेका छौं । केही युरोपियन कम्पनीसँग पनि कुरा भएको थियो, तर अति महँगो रहेछ । त्यसैले अहिले कोरियन कम्पनीको सहकार्यमा बढी जोड दिएका छौं ।’ उनले भने, ‘एक दुई महीनामै खरीद प्रक्रियामा जान्छौं र इन्स्टलेशनको काम गरी डेमोस्टेशनमा तयारी गर्छौ ।’ यसको लागि बढीमा ६ महीनासम्म लाग्न सक्ने उनको भनाइ छ । 

पहिलो रिफिल स्टेशन केयूमा राख्ने योजना 
थापाका अनुसार पहिलो रिफिल स्टेशन केयूको प्रङ्गणमै राख्ने योजना छ । रिफिल स्टेशन अट्यो भने केयू भित्रै र केयूमा नअटेमा धुलिखेलमा राख्ने योज‍ना रहेको पनि उनले जानकारी दिए । तयारीमै धेरै समय लाग्ने भएकाले अहिले तत्काल रिजल्ट नआएको तर रिजल्ट आउन थालेपछि छिटो छिटो आउनेमा उनी आशावादी छन् ।

'हामिले अवको एक/डेढ महीनामा खरीद प्रक्रिया सक्नेगरि काम गरिरहेका छौं ।  तीन महिनामा सामान आउँछ भनेको छ । तयारीमै धेरै समय लाग्छ रिजल्ट आउन थालेपछि छिटो छिटो आउँछ । ३ देखि ५ महिना भित्र आइसक्नुपर्ने हो,' उनले अभियानसंग भने । 

धौवादी फलाम उद्योगमा हाइड्रोजन प्रयोग गर्न छलफल 
देशकै ठूलो फलाम खानी धौवादी फलाम खानी उद्योगले पनि हाइड्रोजन इनर्जी प्रयोगमा चासो देखाएको थापाले बताए । 

कम्पनीसँग गत हफ्ता मात्रै यसबारेमा छलफल भएको र हाइड्रोजन इनर्जी कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे छलफल भएको उनले बताए ।

'उहाँहरूले पनि माइनिङमा हाइड्रोजन कसरी प्रयोग गर्ने भन्ने विषयमा चासो राख्नु भएको थियो। सकरात्मक छलफल भएको छ,' उनले भने ।

विशेष गरी अष्ट्रेलिया, क्यानडा, चिली, चेज रिपब्लिक, फ्रान्स, नर्वे, जर्मनी, हङ्गेरी, जापान, दक्षिण कोरिया, नेदरल्याण्ड, पोर्चुगल, रसिया, स्पेन, भारत र बेलायतले  समेत ऊर्जाको विकल्पमा हाइड्रोजन इनर्जीमा काम शुरू गरिसकेका छन् । 

तेल उत्पादक देश साउदी अरेबियाले चार गिगावाट बराबरको हाइड्रोजन प्लान्ट स्थापना गरिसकेको छ । त्यस्तै, ओमनमा २५ गिगावाट बराबरको सौर्य र वायु ऊर्जासहितको हाइड्रोजन प्लान्ट सन् २०२१ देखि नै सञ्चालनमा आइसकेको छ ।

संयुक्त अरब इमिरेट्ले सन् २०३० सम्म ३० गिगावाट बराबरको ग्रीन हाइड्रोजन प्लान्ट स्थापना गर्ने घोषणा गरिसकेको छ । छिमेकी देश भारतमै हाइड्रोजन मिशन सुरु गरिएको छ र १.३५ ट्रिलियन डलर बराबरको लगानी गर्ने घोषणा गरिसकेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।