प्रभु र सेञ्चुरी कमर्सियल बैंक पुसभित्रै एकीकृत कारोबार गर्ने तयारीमा 

Share News

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्तिसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई बैंकबीच मङ्सिर २१ गते बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्राप्तिसम्बन्धी अन्तिम सम्झौता पत्रमा प्रभु बैंकको तर्फबाट संयुक्त प्राप्ति समितिका संयोजक रमेश सिंह खड्का र सेञ्चुरी कमर्सियल बैंकको तर्फबाट संयुक्त प्राप्ति समितिक सदस्य मनबहादुर राईले हस्ताक्षर गरे ।

पुसभित्रै एकीकृत कारोबार गर्ने गरी यी दुई बैंक प्राप्ति प्रक्रिया पूरा गर्न जुटेका छन् । दुवै बैंकले प्राप्तिसम्बन्धी प्रस्तावलाई पुस १४ गते वार्षिक साधारण सभामार्फत अन्तिम स्वीकृति प्रदान गर्न लागेका छन् । 

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमतिबमोजिम प्राप्ति गर्न लागेको छ । सेञ्चुरीलाई प्राप्ति गरेपछि बन्ने बैंकको नाम प्रभु बैंक नै रहने जानकारी बैंकहरूले दिएका छन् । प्राप्तिपछिको सञ्चालक समितिमा प्रभु बैंकबाट चार जना र सेञ्चुरी बैंकबाट तीन जना रहने सहमति समेत दुई बैंकबीच भएको छ । 

त्यस्तै व्यवस्थापनतर्फ प्रमुख कार्यकारी अधिकृतका रूपमा हाल प्रभु बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृत नै रहने छन् भने सेञ्चुरी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहने सहमति भएको छ । कर्मचारीहरूको समायोजनको विषयमा पनि हाल खाइपाई आएको सेवा सुविधा नघट्ने गरी समान हैसियतमा समायोजन गर्ने तयारी बैंकहरूको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।