काठमाडौं । नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ ।
विश्वकप फुटवल प्रतियोगिता अन्तरगत लुसेल आइकोनिक स्टेडियममा भएको खेलमा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेपछि नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४ - ३ ले पराजित गर्दै अर्जेन्टिना जारी फीफा विश्वकप- २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
नाटकीय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बन्दा अर्जेन्टिना आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल २- २ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो ।
अर्जेन्टिनाका लियोनल मेसी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरेका थिए। पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गर्दा भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा चुकेका थिए।
अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले अन्तिम ७ मिनेटपछि नाटकीय पुनरागमन गरेको थियो। इन्ज्युरी समयको १० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुगेको थियो। अतिरिक्त समयमा पनि गोल नहुँदा खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।
पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिँदै खेलमा आधिपत्य जमाएको थियो। दोस्रो हाफमा भने अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो। तर खेलको ८३ औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो। स्टिभन बर्घाउसको क्रसमा वुट वेघर्स्टले गोल गर्दै खेलमा अर्जेन्टिनाको अग्रता एक गोलमा घटाउन मद्धत पुर्याए ।
त्यसपछि इन्ज्युरी समयमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो। फ्रिकिकमा बर्घिअसले दिएको अप्रत्याशित पासलाई वेघर्स्टले गोलमा परिणत गरेपछि खेल बराबर भएको थियो। नेदरल्यान्डस् भने प्रतियोगिताबाट बाहिरिएको छ । सेमिफाइनलमा अर्जेन्टिनाले क्रोयशियाको सामना गर्ने छ । क्रोयशियाले ब्राजिललाई पेनाल्टी शूट आउटमा पराजित गर्दै सेमिफाइनल पुगेको हो ।
शनिवार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै
शनिवार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।
अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति पौने नौ बजेदेखि शुरु हुनेछ । यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इङ्ग्ल्यान्डबीचको खेल राति पौने एक बजे शुरु हुनेछ । ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।