विश्व फुटबलको आधुनिकीकरण गर्ने 'रोनाल्डो इरा'को अन्त्य : सबै थोक पाएर पनि केही नपाए जस्तो

Share News

दोहा । कतारमा आयोजित विश्वकपमा आफ्नो देश पोर्चुगलको लागि विश्वकप जित्ने सपना क्रिष्टियानो रोनाल्डोले देखेका थिए ।

तर शनिवार अल थुमामा रंगशालामा मोरक्को विरुद्ध क्वाटर फाइनलमा हारेपछि रोनाल्डोको विश्वकप उचाल्ने सपना अधुरै बनेको छ । रेफ्रीले खेल सकियो भनेर सिट्ठी बजाएलगगत्तै मोरक्को सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बन्यो । टिमका खेलाडीहरु खुसीले उफ्रिदैं थिए ।

तर क्वाटरफाइनलमै स्तब्ध बनेको पोर्चुगाली खेलाडीहरुको पीडा असह्य थियो । रुँदै हिडिरहेका रोनाल्डोको सामाजिक सञ्जाल र अनलाइनमा भिडियो देख्दा हरेक पोर्तुगाली समर्थकहरुको मन चरक्क भयो । रोनाल्डोका फ्यानहरु पनि उनीसँगै रोए । 

३७ वर्षका रोनाल्डोका लागि यो सम्भवत: अन्तिम विश्वकप हो । क्वाटरफाइनल शुरु भएदेखि नै उनलाई बेञ्चमै बसाइयो । यो उनको लागि अन्तरराष्ट्रिय फुटबलमा १९६ औं खेल थियो । यो भनेको पुरुषतर्फ अल–टाइम रेकर्ड थियो । पोर्चुगलले सन् २०१६ मा युरो कप जित्दा पनि रोनाल्डो टिममै थिए । तर विश्वकपको उपाधि उचाल्ने उनको सपना अहिलेको लागि अधुरै रह्यो ।

शनिबार मोरक्को विरुद्धको खेलमा उनी सब्सट्च्यिूट खेलाडीका रुपमा मैदानमा छिरेका थिए । उनले गोल गर्ने अवसर नै पाएनन् । फुटबल महाकुम्भको क्वाटरफाइनलमा अर्को निराशाजनक असफलताले रोनाल्डोको भविष्य के होला भन्ने प्रश्न उठाएको छ । 

झन्डै दुई दशकसम्म पेर्चुगल र रोनाल्डो एक अर्काका पर्याय थिए । अझ रोनाल्डो बिना पोर्चुगलको अस्तित्व नै अकल्पनीय लाग्थ्यो । रोनाल्डो विश्वकपमा फेरि पोर्चुगलबाट खेल्लान् कि नखेल्लान् यो त भविष्यले नै बताउनेछ । यदि यो यस्तै भयो भने चाँहि पोर्चुगलको लागि यो ठूलो झट्का हुनेछ ।

रोनाल्डो पोर्चुगलको कप्तान मात्रै नभएर टोलीका लागि कीर्तिमानी गोल गर्ने खेलाडी पनि हुन् । अहिलेसम्मकै महान खेलाडीको सूचीमा पनि यिनी पर्दछन् । यो विश्वकपले रोनाल्डोको मात्रै हैन टिममा विद्यमान कोचका भविष्य समेत अन्यौल पारेको छ ।  

टिममा रहेका खेलाडीहरुको सिप, कौशल हेर्दा पोर्चुगलको लागि क्वाटरफाइनलमा पुग्नु ठूलो उपलब्धि होइन । पोर्चुगलले समूह चरणमा २ खेल जितेको थियो । पोर्चगल दक्षिण कोरियासँग २ –१ ले पराजित भए पनि अन्तिम १६ मा स्वीटजरल्यान्डलाई ६–१ को फराकिलो अन्तरले हरायो ।

समूह चरणदेखि नै रोनाल्डोले आशा गरेजस्तो खेल्न सकेनन् । न त उनले फ्रान्सका काइलियान एमबाप्पेको जस्तो गरी गोलमाथि गोल गर्न सके न त लियोनल मेसीले झैं साथीहरुलाई गोल गर्ने अवसर जुटाइदिन सके । उल्टै कोचले बेञ्चमा बसाउँदा उनको हाउभाउ र रवैयाका कारण पनि रोनाल्डोले आलोचना खेप्नु पर्यो । 

रोनाल्डोले अन्तरराष्ट्रिय फुटबललाई निरन्तरता दिए भने सम्भवत उनी यूरो २०२४ खेल्छन् । उस्तै गरे उनले २०२६ को विश्वकप पनि खेल्छन् । त्यति बेला उनी ४१ वर्षको हुनेछन् । पेपेले त ३९ वर्षको उमेरमा विश्वकप खेलेका थिए ।

विश्वकपमा पोर्चुगल क्वाटरफाइनलबाटै घर फर्किएपछि कोच फर्नान्डो सान्तोसको करियरमा पनि प्रश्न चिह्न उठेको छ । २०२४ मा करार सकिएपछि उनी पुन: अनुबन्धित हुनेमा पनि आशंका छ । 

रोनाल्डो बिनाको पोर्चगलको भविष्य कस्तो होला ? हुन त टिममा अन्य प्रतिभाशाली खेलाडीहरु पनि छन् । २१ वर्षका गोनकालो रामोस् छन् । स्वीटजरल्यान्ड विरुद्धको खेलमा यिनले ह्याट्रिक गरेका थिए  । १९ वर्षे एन्टिनियो सिल्भा पनि छन् । योआओ फेलिक्स, डिओगो डालट, नुनो मेन्डेसलगायत २३ वर्ष वा सो भन्दा कम उमेरका खेलाडी पनि छन् । रोनाल्डोको अनुपस्थितिमा बिस्तारै अन्य स्टार खेलाडी जन्मिनेछन् । तर उनीहरुले रोनाल्डोले झैं क्बल र राष्ट्रिय टिमलाई उकास्न सक्लान् नै भन्न सकिँदैन ।  

मोरक्कोसँग शक्तिशाली डिफेन्स थियो । उ कतार विश्वकपमा पत्याउनै नसकिने गरी उदाएको टिममा पनि पर्थ्यो । पोर्चुगलले क्वाटर फाइनलमा मोरक्कोलाई सहजै हराएर कम्तीमा सेमिफाइनलमा पुग्ने अपेक्षा गरिएको थियो । यो अर्थमा पोर्चुगलले विश्वकपको उपाधि नजिक पुग्ने अर्को सुअवसर गुमाएको छ । 

पोर्चुगलले यो मूल्य रोनाल्डो र उनको टिमको ‘अन्डरपर्फमेन्स’का कारण चुकाएको हो । कतार विश्वकपलाई आँसुमा बिदाई गरेका रोनाल्डोले अन्तरराष्ट्रिय फुटबलबाट सन्यास लेलान् ? यो हेर्न बाँकी नै छ । पोर्चुगलको राष्ट्रिय टिमका लागि १९ वर्षमा अन्तरराष्ट्रिय फुटबलमा रोनाल्डोले  ११८ गोल गरेका छन् ।

उनले क्लब फुटबलमा पनि अतुलनिय प्रदर्शन गरेका छन् । पाँच पटकको बालेन डी’ओर आफ्नो नाममा पारेका छन् । तर अन्तरराष्ट्रिय फुटबलबाट सन्यास लिए भने रोनाल्डोको नाम विश्वकप नै नउचालिकन अस्ताउने आधुनिक युगका महान खेलाडीमा दरिनेछ ।

रोनाल्डोलाई पनि आफ्नै पालामा पोर्चुगलको लागि विश्वकप जित्न नसकेको ग्लानि भइरहेनछ । उनका फ्यानहरुको मन र स्मृतिमा पनि उनी रुँदै विश्वकपबाट बाहिरिएको  तस्वीर  गाडेर बस्नेछ ।

रोनाल्डो यो विश्वकपमा चुक्दा उनलाई सान्तवना दिने र खुच्चिङ भन्ने उत्तिकै छन् । सन् २०२२ रोनाल्डोका लागि यो वर्ष उनको जीवनकै सबैभन्दा कठोर वर्ष रह्यो । विश्वकपको मैदान मात्रै नभएर क्लब जीवन पनि कठिनतम् रह्यो । २०२१/२२को सिजनमा म्यान यू उपाधिबिहिन रह्यो भने उनले च्याम्पियन्स लिगमा खेल्ने क्लब पाएनन् । विवादास्पद अन्तरवार्तापछि म्यान्चेष्टर युनाइटेड छाड्नु पर्यो । व्यक्तिगत जीवनमा पनि द:खद रह्यो । यही अप्रिलमा उनले आफ्नो नवजात शिशु गुमाए । 

कतार विश्वकपमा रोनाल्डोको लागि ‘हिरो मोमेन्ट’ बन्ने आशा गरिएको थियो । तर त्यो क्षण न त स्वयम् रोनाल्डोले अनुभूति गर्न पाए न हामीले देख्न पायौं ।  एउटा विश्वकप मात्रै उनले आफ्नो नाममा लेखाउन नसकेका हुन् ।

पाँच ओटा छ्ट्टा छुट्टै विश्वकपमा गरेको गोलका लागि रोनाल्डोलाई याद गरिनेछ । अन्तरराष्ट्रिय खेलमा उनले गरेको कीर्तिमानी गोलका लागि उनलाई सम्झिनेछ । पाँच पटकको ब्यालन डी’ओर विजेताको रुपमा उनको तस्वीर हाम्रो मन मस्तिष्कमा रहनेछ । चारओटा यूरोपियन गोल्डन सुज र आफ्नो पोल्टामा पारेका सात ओटा लिग उपाधी पनि त छ । एजेन्सीहरु

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।