दोहा । कतारमा जारी विश्वकपको क्वाटरफाइनलमा ब्राजिलको विश्वकप सपना तुहाएको क्रोएशिया पहिलो सेमिफाइनलमा लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाविरुद्ध खेल्दैछ । विश्वकपको क्वाटरफाइनलमा उसले ब्राजिललाई पेनाल्टीमा पराजित गरेको थियो । सेमीफाइनलमा अर्जेन्टिनालाई पनि त्यस्तै खालको झट्का दिन क्रोयशिया सक्षम होला त ?
सन् २०१८ को उपविजेता क्रोएशियाले सेमीफाइनल जित्ने हरसम्भव प्रयास गर्नेछ । ब्राजिललाई क्वाटरफाइनलमा पराजित गरेपछि क्रोएशियाका कोच ज्लात्को डालिकले आफ्नो टिमको मिडफिल्डलाई विश्वमै उत्कृष्ट बताइरहेका छन् । क्रोयशियाको मिडफिल्डलाई मातेओ कोभाकिक, लुका मोड्रिक र मार्सेलो ब्रोजोभिकले विश्वकै उत्कृष्ट बनाएको उनको दाबी छ । उनीहरूलाई बल पास गर्दा बैंकमा पैसा राखेको भन्दा बढी सुरक्षित हुने कोच डालिकले बताएका छन् ।
क्रोयशियाका डिफेन्डर जोसिफ जुरानोभिक टिमले राम्रो खेल्नेमा विश्वस्त छन् । उनले आफ्नो टिमको सफलताको राज टिमको एकजुट र एकता भएको उनले बताएका थिए । ‘मलाई लाग्दैन कि हामी कसैसँग पनि डराउनु पर्छ,’ उनले भनेका थिए । साथै उनले आफूहरूले सकेको उत्कृष्ट प्रदर्शन गर्नुपर्ने पनि बताएका थिए ।
क्रोएशियाको स्ट्राइकर बु्रनो पेटकोभिक सेमीफाइनलका मेस्सीलाई रोक्ने भन्नेबारे क्रोएशियाले कुनै रणनीति नबनाएको बताउँछन् । आफूहरूले एउटा खेलाडीलाई भन्दा पनि पूरै टिमलाई कसरी रोक्ने भन्नेबारे योजना बनाउने गरेको उनको भनाइ छ ।
तर, मेस्सी नेतृत्वको टोली अर्जेन्टिनालाई पराजित गर्न सहज देखिँदैन । क्लब फुटबलमा कयौं कीर्तिमान बनाएका मेस्सी हरहालतमा यो विश्वकपको उपाधि दिलाउन प्रयासरत छन् । गोल गरेर होस् कि गोलमा असिस्ट गरेर, उनले यो कुरा पुष्टि गरिसकेका छन् ।
उनले जारी विश्वकपको ५ खेलमा ४ गोल गरेका छन् । यस्तै, उनले गोलमा सघाएका पनि छन् । उनले नेदरल्याण्डविरुद्धको क्वाटरफाइनलमा नाहुएल मोलिनालाई गोलमा सघाएका थिए ।
कलंक नबोक्ने प्रयासमा मेस्सी
मेसीको यो अन्तिम विश्वकप पनि हुन सक्छ । यदि उनले यो विश्वकपको उपाधि दिलाउन नसके उनलाई विश्वकप जित्न नसक्ने सर्वाेत्कृष्ट खेलाडीको कलंक लाग्न सक्छ । उनी आफूमाथि यो कलंक नबोक्ने प्रयासमा हुनेछन् । यसका लागि उनले दुई खुट्किला पार गर्नुपर्नेछ । पहिलो– सेमिफाइनल र दोस्रो– फाइनल ।
यसअघि सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपबिजेतामै सीमित बनेको थियो । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।