दोहा । आफ्नो विश्वकप जित्ने सपना समाप्त भएको घोषणा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले गरेका छन् । क्वाटरफाइनलमा मोरक्कोसँग हारेको एक दिन पछि उनले त्यस्तो बताएका हुन् । आफ्नो इन्ष्टाग्राम पोष्टमा फ्यानहरुलाई एक सन्देशमा आइतबार रोनाल्डोले आफ्नो विश्वकप जित्ने सपना सपना नै भएको बताएका छन् । १९ वर्षपछि विश्वकप उपाधी जित्ने उनको यात्रा निष्कर्ष बिहिन भएको छ । मोरक्कोसँग अन्तिम ८ मा पराजित भएपछि रोनाल्डोले मुख खोलेको यो पहिलो पटक थियो । ‘पोर्चुगलका लागि विश्वकपको उपाधि चुम्ने मेरो सबैभन्दा ठूलो सपना अनि महत्वाकांक्षा थियो,’ रोनाल्डोले पोष्टमा लेखेका छन् । सो पोष्टमा मोरक्कोको अप्रत्याशित जितपछि उदास बनेका रोनाल्डोको तस्वीर पनि थियो । हताशमा प्रतिक्रिया देखाउनुको कुनै अर्थ छैन’ पोष्टमा पाँच पटकको ब्यालन ओ’डीओर विजेताले भनेका छन् । खेल सकिएपछि उनको बारे्कयौं कुरा भनियो, कयौं कुरा लेखियो, अनेकौं अड्कलबाजी गरियो । ‘तर पोर्चुगलका लागि आफ्नो समर्पण क्षणभरको लागि पनि डगमगाएको छैन,’ रोनाल्डोले पोष्टमा अझ अगाडि थपेका छन् ।
मोरक्कोसँगको हार्नु अगावै समूह चरणको शुरुको खेलमा घाना विरुद्ध गोल हालेले रोनाल्डोले कतारमा नयाँ इतिहास कोरेका छन् । उनी पाँच ओृटा फरक फरक विश्वकपमा गोल गर्ने एक मात्रै पुरुष खेलाडी बनेका छन् । १६ वर्षको अवधिभित्र विश्वकपमा सहभागी ुहँदा आफूले सधैं महान खेलाडीहरुसँग खेलेको, लाखौं करोडौं पोर्चुगालीहरुले आफूलाई समर्थन गरेको अनि आफूले सकेको राम्रो गरेको उनले भनेका छन् । ‘मैले पिचमा आफूसँग भएको सबै कुरा दिइसके । म कहिले पनि मैदानमा गर्नु पर्ने लडाईबाट खुम्चिन र त्यो सपना पूरा गर्ने प्रयास मैले कहिले छाडिन ।’ उनको भनाई छ । ‘तर दूर्भाग्य त्यो सपना हिजो समाप्त भयो,’ उनले थपेका छन् । सो पोष्टमा रोनाल्डोले आफ्नो भविष्यबारे केही पनि लेखेका छैनन् । कतार विश्वकपपछि ३७ वर्षे रोनाल्डोले अन्तरराष्ट्रिय फुटबलबाट सन्यास लिने अपेक्षा गरिएको छ । यो उनले खेलेको पाँचौं विश्वकप हो । टिमका कोचले स्वीटजरल्यान्ड विरुद्धको खेलमा रोनाल्डोलाई वैकल्पिक खेलाडीको रुपमा बेञ्चमा राखेपछि उनको मुखाकृति र भावभंगिमाप्रति अनेकौं टिकाटिप्पणी भएको थियो । आफूलाई मैदानमा नबोलाइयो रोनाल्डोले कतार छाडेर जाने धम्की कोचलाई दिएको अफवाह पनि फैलिएको थियो । शनिबार रातिको खेलमा पनि सान्तोसले रोनाल्डोलाई वैकल्पिक खेलाडीमा राखे । दोस्रो हाफमा मात्रै उनलाई मैदानमा उतारियो । तर उनले एउटै गोल पनि हान्ने अवसर जुटाएनन् । आफूले कहिले पनि आफ्ना टिममेट र देशलाई पिठ्यू नफर्काउने पनि उनले भनेका छन् । सबैले आ–आफ्नै हिसाबले निचोड निकाल्न् भन्ने उनको योजना छ । आफ्नो पोष्टको पुछारमा भने अहिले भन्नका लागि धेरै कुरा नभएको भन्दै उनले पोर्चुगल र आयोजक कतारलाई धन्यवाद भनेका छन् । कतारबाट बाहिरिँदासम्म पनि रोनाल्डो बेरोजगार नै छन् । विश्वकपको पूर्व सन्ध्यामा विवादास्पद अन्तरवार्तापछि रोनाल्डोले तत्कालै लागू हुने गरी म्यान्चेष्टर युनाइटेड छाडेका थिए । पोर्चुगलले अहिलेसम्म एउटै विश्वकप जितेको छैन । रोनाल्डो जस्तो महान खेलाडी हुँदा त उसले उपाधि चुम्न सकेन । अर्को संस्करणमा उ रोनाल्डो बिना विश्व विजेता बन्ला ?
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।