नेप्सेले गर्‍यो दुई कम्पनीको शेयर मूल्य समायोजन 

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले चिलिमे हाइड्रोपावर र प्रभु बैंकको शेयर मूल्य समायोजन गरेको हो । यी दुई कम्पनीले प्रस्तावित लाभांश एवम् साधारण सभा प्रयोजनका लागि तय गरेको बुक क्लोजको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । 

प्रभु बैंकले गत आर्थिक वर्ष ०७८/७९ सम्मको सञ्चित मुनाफाबाट ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि बैंकले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सो सभा प्रयोजनका लागि पुस १ गते एक दिन बुक क्लोजको मिति तय गरेको बैंकको बुक क्लोजको अघिल्लो कारोबार दिन मङ्सिर २९ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

त्यस्तै चिलिमे जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ सम्मको सञ्चित मुनाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको हो ।

चिलिमे हाइड्रोपावर प्रस्तावित लाभांश पारितका लागि पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते एक दिन बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोज पछिको मूल्य तय गरेको हो ।
दुवै कम्पनीको बुक क्लोजको अघिल्लो कारोबार दिन मङ्सिर २९ गतेको अन्तिम मूल्यका आधारमा कम्पनीको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको छ ।

नेप्सेले प्रभु बैंकको मङ्सिर २९ गते कायम अन्तिम शेयर मूल्य रू. २०१ दशमलव ९० को आधारमा ६ दशमलव ५ प्रतिशत बोनस शेयर पछिको मूल्य रू. १८९ दशमलव ५८ तोकेको छ । त्यस्तै नेप्सेले चिलिमे हाइड्रोपावरको मङ्सिर २९ गते कायम अन्तिम शेयर मूल्य रू. ३९० को आधारमा ७ दशमलव ५ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३६२ दशमलव ७९ तोकेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।