काठमाडौं । कतारमा जारी विश्वकप २०२२ आइतवार समापन हुँदै छ । फ्रान्स र अर्जेन्टिनाले एकआपसमा प्रतिस्पर्धा गरेपछि एक टोलीले तेस्रो पटक उपाधि जित्ने छ ।
फ्रान्सले जितेमा देश र खेलाडीको व्यक्तिगत पनि धेरै रेकर्डहरू बन्ने छन् । अर्जेन्टिनाले जितेमा भने मेस्सीले रेकर्ड बनाउने छन् । देशको नाममा धेरै रेकर्ड बन्ने ठाउँ छैन ।
फ्रान्सले जितेमा बन्न सक्ने रेकर्ड
फ्रान्सले यो विश्वकप जित्यो भने ६० वर्षपछि लगातार दुई विश्वकप जित्ने देश बन्ने छ । यस अघि दुई देशले यो उपलब्धि हात पारिसकेकाले ऊ तेस्रो देश हुनेछ । सन् १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेयता कुनै पनि राष्ट्रले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । सबैभन्दा पहिला लगातार २ पटक विश्वकप जित्ने देश भने इटाली हो । उसले १९३४ र १९३८ को विश्वकप लगातार जितेको थियो ।
त्यस्तै फ्रान्स ३ भन्दा बढी विश्वकप जित्ने चौथो देश हुने छ । यस अघि ब्राजिल, जर्मनी र इटालीले यो उपलब्धि हात पारेका छन् ।
२४ वर्ष पुग्नुअघि नै २ पटक पुरुष विश्वकप फुटबलको उपाधि जित्ने एमबाप्पे पेलेपछिका दोस्रो र एक मात्र खेलाडी बन्नेछन् । यो रेकर्ड पनि ६० वर्षपछि एम्बाप्पेको नाममा आउन सक्छ । कप्तानको रूपमा एउटाभन्दा धेरै विश्वकप उपाधि जित्ने ह्युगो लोरिस पहिलो पुरुष खेलाडी बन्नेछन् । पुरुषतर्फको विश्वकपमा सबैभन्दा धेरै रनर अप बन्नेमा जर्मनीसँग अर्जेन्टिनाले बराबरी गर्नेछ ।
अर्जेन्टिनाले जितेमा बन्न सक्ने रेकर्ड
अर्जेन्टिनाले विश्वकप २०२२ जित्यो भने शुरुको खेल हारेर विश्वकप उचाल्ने स्पेन पछिको दोस्रो टिम बन्नेछ । यसअघि स्पेनले २०१० मा यो रेकर्ड बनाएको थियो । त्यतिबेला स्पेन स्वीटजरल्यान्डसँग २-१ ले पराजित भएको थियो । यो पटक अर्जेन्टिना साउदी अरबसँग समान २-१ ले नै पराजित भएको थियो ।
त्यस्तै यो अर्जेन्टिनाको तेस्रो उपाधि हुने छ । यस अघि ब्राजिल, जर्मनी र इटालीले मात्रै ३ पटक उपाधि जितेका छन् । अर्जेन्टिना चौथो देश बन्न सक्छ ।
व्यक्तिगत रुपमा भने अर्जेन्टिनी स्टार मेसीले पहिलो पटक विश्वकपको उपाधि जित्ने छन् । पोर्चुगिज सुपर स्टार क्रिष्चियानो रोनाल्डोभन्दा मेसी उत्कृष्ट भन्ने दाबीलाई बलियो बनाउने छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।