लगानीकर्ताहरुलाई प्राविधिक विश्लेषणको सुविधा दिने 'स्मार्ट कारोबार मोबाइल एप', यस्ता छन् विशेषता

Share News

काठमाडौं । शेयर लगानीकर्ताहरुलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा  भएको स्मार्ट कारोबार मोबाइल एपको फुल भर्सन सञ्चालनमा आएको छ ।  होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको यो एप एक वर्ष अगाडि नै  ‘बेटा भर्सन’ सार्वजनिक भएपनि गुगल प्लेस्टोरमा उपलब्ध भएको थिएन । 

एपमा प्राविधिक विश्लेषणका अतिरिक्त वाचलिस्ट, लाइभ डाटा, एभरेज प्राइस, कम्पनी स्टाटस, कोरिलेसन, अड लट, फिबोनाची, न्यारो रेन्ज जस्ता फिचरहरु छन् । यो एपले शेयर सम्बन्धी अनुभव भएका व्यक्तिहरुलाई मात्र नभई सेयर बजारको ज्ञान नभएका व्यक्तिहरुलाई पनि ज्ञान हासिल गर्न सहयोग गर्ने होम सर्भिस ट्रेड लिंकका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले बताए । 

'म आफैं प्राविधिक विश्लेषण गर्छु । आफु पनि सक्रिय रुपमा शेयर कारोबार गरिरहेको बेला कम्पनी एनालाइसिस गर्न समय लाग्ने भएकाले लगानीकर्ताको समय बचत होस् भन्नका लागि सूचीकृत सबै कम्पनीको रियलटाइम एनालाइसिस एपमा उपलब्ध गराइएको हो, ' प्रबन्ध निर्देशक श्रेष्ठले भने ।

उनका अनुसार अड लटको सेयर किनबेचका सम्बन्धमा जानकारी आदानप्रदान गर्न अडलट फोरम पनि एपमा उपलब्ध गराइएको छ ।  यसैगरी एपमा उपलब्ध गराइएका फिचरहरुलाई लिएर प्रयोगकर्तामा कुनै दुविधा भएमा उक्त दुविधाहरु हटाउनका लागि निशुल्क तालिम प्रदान गरिने श्रेष्ठले जानकारी दिए । यसैगरी प्याकेजमा उपलब्घ गराइएका सेवाहरु प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले बेसिक प्याकेज तथा प्रिमियम प्याकेज खरिद गर्न सक्ने छन् । 
एप प्रयोगकर्ताहरुले १५ दिनसम्म परीक्षणका लागि सबै फिचरहरु निशुल्क प्रयोग गर्न पाउने छन् भने त्यस पछिको बेसिक प्याकेज मासिक १९९ र प्रिमियम प्याकेज मासिक ३९९ रूपैयाँमा लिन सक्नेछन् । यस्ता प्याकेजको वार्षिक भुक्तानीमा ३५ प्रतिशत छुट उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए । 

यी प्याकेजको रकम भुक्तानी इ-सेवाबाट गर्न सकिनेछ । यसका साथै ३ जनालाई रिफरल पठाएर १ महिनाको प्रिमियम प्याकेज निशुल्क प्रयोग गर्न सकिन्छ । नेपाली शेयरबजारमा नवलगानीकर्ताहरू प्रवेश गर्दा बजारमा आकर्षण बढे पनि सेयरबजार सम्बन्धी ज्ञान नहुँदा धेरै मानिसहरु नोक्सान व्यहोर्न बाध्य छन् । त्यस्ता लगानीकर्ताहरुले यो एपबाट धेरै जानकारी तथा सूचनाहरु, तुलनात्मक अध्ययन लगायतको सदुपयोग गर्न सक्छन् । यस आधारमा लगानीकर्ताहरुलाई सेयर सम्बन्धी ज्ञान प्राप्त गर्न स्मार्ट कारोबार एप महत्वपूर्ण हुने श्रेष्ठको दाबी छ । 

लञ्च भएको केही दिनमा नै एपका प्रयोगकर्ताहरुको सङ्ख्या ४ हजार भन्दा धेरै पुगेको छ । एप तथा एप भित्रको फिचर सजिलै बुझ्न र चलाउन सकिने भएकोले डाउनलोड गर्नेको संख्या दिनहु बढिरहेको कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।
यसैगरी हरेक साँझ ६ बजे स्मार्ट कारोबारको टिमले जुम मार्फत एपभित्रका सम्पूर्ण फिचरको बारेमा जानकारीमुलक छलफल गर्नुका साथै निशुल्क प्राविधिक विश्लेषण समेत गराउँदै आएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।