काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले पुस २६ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको गत सोमवार बसेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित १२ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उल्लेखित प्रस्तावसँगै सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट तीन जना र सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना गरी ६ जना सञ्चालकहरू निर्वाचन समेत गर्नेछ । संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालका लागि नयाँ सञ्चालक लोमस मानन्धरको नियुक्ति अनुमोदनसमेत सभाले गर्नेछ । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक देखिएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्नेछ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।