माया खोला हाइड्रोको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिने अन्तिम दिन आज, स्थानीयका लागि म्याद थप 

Share News

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेबाट निष्कासन गरेको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिन आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित स्थानीयले भने पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले स्थानीयबाट छिटो अवधि पुस ८ गतेसम्म मागबमोजिम आवेदन नपरेपछि पुस १७ गतेसम्मको अवधि थप गरेको हो । 

कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र बैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९ का स्थानीय, धर्मदेवी नगरपालिकाका वडा नम्बर ३,४, ५, का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता शेयर निष्कासन गरेको हो । 

त्यस्तै प्रभावित क्षेत्रको रूपमा रहेका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडाबाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता शेयर निष्कासन गरेको हो । २ लाख ४० हजार कित्ता शेयर भने श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकमा विक्री खुला गरिएको छ । 

स्थानीयले आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्कासनको लागि प्रभु क्यापिटल विक्री प्रबन्धक रहेको छ । 

विक्री प्रबन्धकसँगै आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा गएकाले नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । 

पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेको नेपालीमा आईपीओ विक्रीपछि सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ । कम्पनीले संखुवासभामा १४ दशमलव ९ मायाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।