काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुरूप पूँजीकोष अनुपात कायम गर्न नसक्दा यो वर्ष पनि एन आई सी एशिया बैंकका लगानीकर्ताले लाभांश नपाउने भएका छन् ।
गतवर्ष पनि बैंकले अहिलेकै गल्ती गरेका कारण लगानीकर्तालाई निराश बनाएको थियो । शेयर मूल्य घटेर निराश बनेका लगानीकर्ताले लाभांश पनि नपाउँदा कर्जा प्रवाहबाट नाफा कमाउनमा मात्र बैंक नेतृत्व केन्द्रित भएको आरोप लगाइरहेका छन् । पुराना लगानीकर्ता डमरुवल्लभ घिमिरे एन आई सी एशिया बैंक कर्जा प्रवाहबाट नाफा कमाउन मात्र केन्द्रित भएको बताउँछन् । बैंकको प्रमुख कार्यकारी अधिकृत भविष्यको जोखिमलाई ध्यान नदिई नाफा कमाउन मात्र केन्द्रित भएको आरोप लगाउँदै घिमिरेले थपे, ‘शेयरधनीको हकमा नपर्ने नाफा कमाएर बैंक बलियो हुँदैन ।’
आम शेयरधनीका लागि एन आई सी एशियाको मुनाफा घिमिरेले भने जस्तै ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भएको छ । लाभांश वितरण क्षमताको हिसाबले एन आई सी एशिया टप ५ मै छ । नियामक निकायको निर्देशन अनुपालनामा नचुकेको भए यसले गतवर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्थ्यो ।
राष्ट्र बैंकले इजाजतपत्र प्राप्त संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा ‘इजाजतपत्र प्राप्त संस्थाले आर्थिक वर्षको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पूँजीकोष कायम गर्न नसके लाभांश वितरण गर्न पाइने छैन’ उल्लेख छ ।
राष्ट्र बैंकको नियमअनुसार लाभांश वितरण गर्न आर्थिक वर्षको प्रत्येक अवधिमा प्राथमिक पूँजीकोष अनुपात ८ दशमलव ५ प्रतिशत अनिवार्य कायम गर्नुपर्छ । तर, एन आई सी एशियाले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा न्यूनतम पूँजीकोष अनुपात ७ दशमलव ८० प्रतिशत मात्र कायम गर्न सकेका कारण यस वर्ष पनि लाभांश वितरण गर्न नपाएको हो । त्यसैले अघिल्लो वर्षभैंm यो वर्ष पनि बैंकका लगानीकर्ताको हात खाली हुने भएको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत लाभांश घोषणा गरे पनि राष्ट्र बैंकले अस्वीकृत गरेको थियो । राष्ट्र बैंकले जारी गरेको निर्देशिकाअनुसार पूँजीकोष अनुपात पर्याप्त नभएका कारण एन आई सी एशियाको उक्त लाभांश अस्वीकृत भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा बैंकले प्राथमिक पूँजीकोष ८ दशमलव ५ प्रतिशत पु¥याउन असफल भएका कारण राष्ट्र बैंकले घोषणा भइसकेको लाभांश पनि बाँड्न रोकेको हो । यसपालि त बैंकले लाभांश नै घोषणा गरेको छैन ।
एन आई सी एशियाले राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेको यो लगातार तेस्रो वर्ष हो । उसले आर्थिक वर्ष २०७६/७७ मा पनि राष्ट्र बैंकले जारी गरेको निर्देशिकाअनुसार न्यूनतम पूँजीकोष अनुपात कायम गर्न सकेको थिएन । तर, राष्ट्र बैंककै स्वीकृतिमा उसले उक्त आर्थिक वर्षका लागि २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
नियामकको निर्देशनबमोजिम पूँजीकोष अनुपात कायम गर्न असफल एन आई सी एशिया अन्य बैंकको तुलनामा बढी व्यापारमुखी भएको स्पष्टै देखिन्छ । बैंक नेतृत्व अहिले संस्थालाई वित्तीय रूपमा बलियो बनाउनेभन्दा आक्रामक रूपमा कर्जा विस्तार, शाखा विस्तार, विभिन्न स्किम सञ्चालनमा ल्याएर ग्राहक लोभ्याउनेजस्ता कार्यमा केन्द्रित भएको देखिन्छ । यसको प्रत्यक्ष असर बैंकका शेयरधनीले भोग्दै आएका छन् । झन्डै ३२०० पुगेको शेयरबजार सूचक नेप्से अहिले १९०० बिन्दुको वरिपरि रहँदा दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्यमा कमी आएको छ । घट्दो बजारमा बैंकले लाभांशसमेत वितरण नगर्दा लगानीकर्तालाई अहिले आफूसँग भएको शेयर निल्नु न ओकल्नु भएको छ ।
राष्ट्र बैंकका अधिकारीहरू बैंकले यसअघि जारी गरिएका निर्देशिका पालना गर्नुको विकल्प नभएको बताउँछन् ।
पूर्वगभर्नर ड. चिरञ्जीवी नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बैंक, वित्तीय संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउँछन् । ‘केन्द्रीय बैंकले पनि निर्देशन जारी गरिसकेपछि त्यसको पालना भएको छ÷छैन भनेर नियमन र सुपरिवेक्षण गर्नुपर्छ,’ उनले थपे, ‘बैंकहरूले बढी नाफा आर्जन गर्न केन्द्रीय बैंकको निर्देशनबाहिर गएर बढी लगानी गर्छन् । निर्धारित पूँजीकोष अनुपात कायम गर्न नसक्नुमा बैंक नेतृत्वमा पनि समस्या देखिन्छ ।’
कर्जामा मात्र आक्रामक भएर लगानीकर्ताको भागको नाफा रोकिने अवस्था आगामी दिनमा पनि दोहोरिए शेयरधनीको आक्रोशको सामना गर्न बैंक नेतृत्व असमर्थ हुने पूर्वगभर्नर डा. नेपाल बताउँछन् ।
दुई वर्षदेखि लगानीकर्तालाई लाभांश दिन नसकेकोबारे प्रतिक्रिया लिन खोज्दा बैंकका जिम्मेवार अधिकारीहरू सम्पर्कमा आएनन् । बैंकका सूचना अधिकारी सुधीरनाथ पाण्डे र सहायक सूचना अधिकारी अर्जुनराज खनियाँले फोन उठाएनन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले फोन नउठाएपछि म्यासेज गर्दा पनि प्रतिक्रिया दिएनन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।