काठमाडौं : तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै हुँदा पनि निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको स्वास्थ्यविदहरू बताउँछन् ।
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउँछन् । युवाहरुमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनको कारणले हृदयघातको समस्या बढ्दै गएको उनको भनाइ छ ।
खासगरी ४५ वर्ष मुनिका २० प्रतिशत युवामा हृदयघातको मुख्य कारण नै चुरोट र सुर्ती सेवन भएको अधिकारीले बताए ।
उनका अनुसार अहिले अस्पतालमा हृदयघात भएर आउने धेरै युवाहरूले चुरोट र सुर्ती सेवन गरिरहेका हुन्छन् । चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ खानपान, मोटोपना, तनाबजस्ता कारणले पनि युवा उमेरमा नै हृदयघात हुने गरको छ ।
चुरोट र सुर्तीका अलवा हृदयघात वंशाणुगत कारण पनि हुने गरेको चिकित्सकहरू बताउँछन् । ४५ वर्ष कटेपछि जो कोहीले पनि वर्षमा एकपटक तथा धूममान गर्ने, कोलेस्ट्रोल बढी र मोटोपना भएका मानिसले भने एकपटक मुटुको जाँच गराउन आवश्यक हुने चिकित्सकहरू बताउँछन् ।
खासगरी पुरुष ५५ र महिला ६५ वर्ष नाघेपछि, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल मोटोपना, हर्मोन, चिल्लो खानापन, तनाब जस्ता कारणले हृदयघात हुने गरेको पाइन्छ ।
जाडोमा हृदयघात बढी
जाडोमा हर्माेनको कारणले पनि हृदयाघात हुने सम्भावना बढी हुने चिकित्सहरू बताउँछन् ।
हृदयाघात बिहान ८ बजेतिरको समयमा बढी हुने गर्दछ । शरीरमा हर्मोन बनिरहेका हुन्छन् । जाडो मौसममा बिहानको समयमा हर्मोनको सक्रियता धेरै हुनेगर्छ ।
हर्मोनको सक्रियता धेरै हुँदा उच्च रक्तचाप बढ्ने, मुटुको चाल बढ्ने हुन्छ । चिसो समयमा मुटुको नशा साँघुरिएको हुन्छ भने मुटुको चाल बढ्दा मुटुलाई रगत पुग्दैन र त्यसलाई थाम्न नसक्दा हृदयाघात हुने गरेको केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा दिपशङ्कर प्रजापति बताउँछन् ।
“हर्मोन सक्रिय हुँदा बिहानीपख उच्च रक्तचाप हुने, मुटुको चाल बढ्ने जस्ता कारणले मुटुको नशा साँधुरो छ भने मुटुको चाल बढेको बेला रगत पुग्दैन,” उनले भने,“मुटु रोगीलाई बिहानको हिँडाइमा हृदयघात हुने सम्भावना बढी हुन्छ ।”
यस्तै धेरैजसो आत्तिने, झगडा गर्ने बेला पनि मुटुको चाल र उच्च रक्तचाप भएर मानिसमा हृदयघात हुने गरेको केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रजापतिले जानकारी दिए ।
हृदयघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्चरक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपने चिकित्सकहरुको सुझाव छ ।
व्यायाम गर्नेमा कम हृदयघात
नियमित व्यायाम गर्ने मान्छेमा भन्दा व्यायाम नगर्ने मान्छेमा हृदयघात हुने सम्भावना धेरै हुने केन्द्रका कार्यकारी निर्देशक डा अधिकारीले बताए ।
उनका अनुसार सय जना व्यायाम गर्ने मान्छेमा एक जनालाई हृदयघात हुन्छ भने व्यायाम नगर्ने मानिसमा सय जनामा १० जनामा हृदयघात हुनसक्छ ।
केन्द्रले तीन सय ४० जनामा गरेको अध्ययनमा हृदयघात भएका ८८ प्रतिशतलाई छाती दुखेको थाहा भएको र २४ प्रतिशतले रोग मुटुको हो भन्ने थाहा पाउने गरेको पाइएको छ ।
नेपालीहरु छाती दुख्यो भने ढिलो उपचारका लागि आउने गरेको उनले बताए ।अध्ययनअनुसार ९२ प्रतिशत मानिस हृदयाघात हुँदा नजिकैको स्वास्थ्य चौकीमा पुगेको पाइन्छ ।
लक्षण कसरी थाहा पाउने ?
छाती भारी जस्तो हुने, छातीमा ढुङ्गा राखेको जस्तो लाग्छ, अलिकति हिँड्यो भने त्यो दुखाई बढ्न जान्छ र आराम गर्यो भने कम हुन्छ । यस्तो हुनु भनेको नशा साँधुरो हुनु हो र मुटुलाई रगत पुगेको छैन भन्ने थाहा हुन्छ ।
हृदयघात हुने बेला रगत मुटुमा जान पाउँदैन । हृदयाघात भनेको मुटुमा रक्तसञ्चार नहुनु हो । त्यतिबेला दुखाई निरन्तर भइरहन्छ र आराम गर्दा पनि कम हुँदैन ।
दैनिक पाँच जना हृदयघातका बिरामी
केन्द्रका निर्देशक डा अधिकारीका अनुसार दैनिक सात सय जना बहिरङ्ग सेवामा मुटुका बिरामी आउने गर्दछन् भने आकस्मिक कक्षमा ५० भन्दा बढी मुटुका बिरामी आउने गर्दछन् ।
उनका अनुसार दैनिक पाँच जना हृदयघातका बिरामी अस्पतालमा आउने गरेका छन् । अस्पतालमा हृदयघातका बिरामी २४ घण्टाभन्दा पछि आउने गरेका छन् ।
तर हृदयाघातका बिरामी जतिछिटो अस्पतालमा आए त्यति नै बाँच्ने सम्भावना बढी हुन्छ । हृदयाघातका बिरामीलाई मुटुको नशा खोलेर मांसपेशीमा रगत सञ्चालन गर्नुपर्ने भएकाले जतिसक्यो छिटो अस्पताल पुग्नुपर्ने उनले सुनाए ।
हृदयघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउन सके बचाउन सकिने उनको भनाइ छ ।
केन्द्रले हृदयघात भएका बिरामीलाई २४ घण्टा नै एन्जियोप्लाष्टी (मुटुको नशा खोल्ने प्रविधि) गरेर बचाउने गर्दछ । हृदयघात भएर आएको एक घण्टाभित्रमा बिरामीको एन्जियोप्लाष्टी गर्न सकिन्छ ।
एउटा एन्जियोप्लाष्टी गर्नका लागि १ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने गर्दछ । तर तिर्न नसक्ने गरीब असाहयका लागि केन्द्रले विगत दुई वर्षदेखि भने निःशुल्क एन्जियोप्लाष्टी गर्ने गरेको छ ।
“हृदयघात भएको मानिसको मुटुमा रगतको आपूर्ति बन्द भएपछि मुटु दुख्न थाल्दछ । मुटुको मासु मरिसकुन्जेल छाती दुख्ने गर्दछ । केन्द्रले प्राइमरी एन्जियोप्लाष्टी गरेका बिरामीलाई चार/पाँच दिनमै अस्पतालबाट घर पठाउने गरेको छ ।
केन्द्रमा २४ घण्टा नै हृदयघात भएका बिरामीको प्राइमरी एन्जियोप्लाष्टिक गर्नका लागि १५ जना जनशक्तिसहित चार ओटा शल्यक्रिया थ्रेयटर (क्याथल्याब) तयारी अवस्थामा राखिएको हुन्छ ।
केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लाष्टिक गरेर हृदयघात भएका बिरामीलाई बचाउने गरेको उनले बताए । केन्द्रमा सन् २००६ देखि एन्जिप्लाष्टिक हुँदै आएको छ ।
पहिलो पटक हृदयघात हुँदा १०० जनामध्ये २३ जनाको मृत्यु अस्पताल नपुग्दै हुनेगर्दछ । हृदयघात भएर अस्पताल आएका बिरामीमध्ये सात प्रतिशतको अस्पतालमै मृत्यु हुने गरेको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा अस्वस्थ्य खानपान र जीवनशैलीमा आएको परिवर्तनले हृदयघात हुनेको सङ्ख्यामा दोब्बरले वृद्धि भएको छ ।
गङ्गालालमा सन् २०१२ मा चार सय ९५ जना हृदयघात भएका बिरामी आएका थिए भने सन् २०१८ मा तीन गुणा बढेर १ हजार चार सय ६० जना पुगेको केन्द्रले जानकारी दिएको छ ।
डा अधिकारीका अनुसार सन २०२० मा १ हजार छ सय ९८ र २०२१ मा २ हजार दुई सय ७३ जना अस्पतालमा भर्ना भएका थिए । विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने मुटु रोगका बिरामीमध्ये ५० प्रतिशत हृदयघात भएका बिरामी रहेका छन् ।
– शरद् शर्मा/रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।