काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को नोक्सानी पछिल्लो महिना घटेको छ । कात्तिक मसान्तसम्म रू. १ करोड ३१ लाखभन्दा बढी नोक्सानीमा रहेको योजना मङ्सिर महीनामा भने रू. १ करोड २५ लाखभन्दा बढी नोक्सानीमा रहेको हो ।
मङ्सिरमा योनजाको ब्याज आम्दानी, लाभांश आम्दानी र धितोपत्र विक्रीबाट भएको आम्दानी बढेकाले खुद नोक्सानी घट्न सहयोग मिलेको हो । मङ्सिरमा योजनाले ब्याजबाट रू. १ करोड ३१ लाखभन्दा बढी र लाभांशबाट रू. १८ लाख ५४ हजार आम्दानी गरेको छ । त्यस्तै धितोपत्र विक्रीबाट भएको लाभ रू. १८ लाख ३९ हजार छ ।
कात्तिकको तुलनामा योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य बढेको छ । कात्तिकमा रू. ९ दशमलव ८७ रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य मङ्सिरमा रू. ९ दशमलव ८८ पुगेको छ । मङ्सिर मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको मूल्य कमिसनसहित रू. ३० करोड ६१ लाखभन्दा बढी रहेको छ ।
योजनाले यस अवधिसम्म बैंक मुद्दती निक्षेपमा रू. १२ करोड लगानी गरेको छ । कात्तिकको तुलनामा योजनाले बैंक मुद्दती निक्षेपमा लगानी बढाएको छ । कात्तिक मसान्तसम्म योजनाको बैंक मुद्दती निक्षेपमा रू. १० करोड लगानी रहेको थियो । योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम नै रहेको छ ।
बैंक मुद्दती निक्षेपसमेत योजनाको कुल लगानी मूल्य रू. ४० करोड ८२ लाखभन्दा बढी रहेको छ । मङ्सिर मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य रू. २८ करोड ८२ लाखभन्दा बढी मात्र रहेको छ । बजार घटेको असर योजनाको लगानी मूल्यमा परेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।