काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ ।
गत पुस १७ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी माघ ९ गते २५औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा होटल लि हिमालय लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
सभाले गत आर्थिक वर्ष २०७८/०७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजारको आधारमा ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि रू. ५३ लाख ७३ हजार ६३६ बराबर नगद लाभांश वितरण गर्न लागेको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।