काठमाडौं । गएको वर्ष भारतीयहरूले प्रत्येक घन्टा ४/४ ओटा लक्जरी कार किनेका छन् । सो अवधिमा लक्जरी कार बजारमा विक्री झन्डै झन्डै कोरोना भाइरसको महामारी पूर्वको स्तरमा आएको छ ।
कोभिडबाट आर्थिक पुनःबहाली र पश्चिमका अधिकांश अर्थतन्त्र आर्थिक मन्दीको जोखिमबाट गुज्रिरहँदा विश्वको सबैभन्दा तीव्र गतिमा बढिरहेको अर्थतन्त्रको रुपमा भारतको शाखलाई पूष्टि गर्दै २०२२ मा भारतको लक्जरी कार बजारमा सुधार आएको छ ।
समीक्षा अवधिमा भारतमा करीब ३७ हजार देखि ३८ हजार थान लक्जरी सवारी साधन बिकेका छन् । यो एक वर्ष अघिको भन्दा ५० प्रतिशत धेरै हो । यद्यपि, यसले सन् २०१८ मा कायम भएको कीर्तिमानलाई भने तोड्न सकेन । २०१८ मा भने भारतमा झन्डै ४० हजार थान लक्जरी सवारी साधन विक्री भएका थिए ।
मूलधारको अटो बजारमा गएको वर्षको विक्री २३ प्रतिशतले बढेर ३७ लाख ९० हजार थान पुगेको थियो । यी मध्ये १० लाख रुपया वा सो भन्दा बढी मूल्यका सवारी साधनको हिस्सा ४१ प्रतिशत थियो । लक्जरी सेगमेन्टमा पनि महँगा सवारी साधन अर्थात् १ करोड रुपयामाथिका सवारी साधनको माग बढेको लक्जरी सवारी साधन उद्योगका एक वरिष्ठ कार्यकारीले भनेको भन्दै इकोनोमिक्स टाइम्सको अनलाइन संस्करणमा समाचार छापिएको छ ।
शीर्ष तीन लक्जरी अटो निर्माता मर्सिडिज–बेञ्ज, बीएमडब्ल्यू र आउडी रहेका छन् । समीक्षा अवधिमा तीन ओटै कम्पनीको विक्रीमा सुदृढ वृद्धि देखिएको छ । मर्सिडिज बेञ्ज र बीएमडब्लयूको विक्री अहिलेसम्मकै उच्च छ । भोल्भो, लेक्सस र जागुआर ल्यान्डरोभर लगायतको विक्री पनि बढेको छ ।
गएको वर्ष भारतमा मर्सिडिजका कूल १५ हजार ८२२ थान सवारी विक्री भएका छन् । यो यस अघि सन् २०१८ मा कायम भएको कीर्तिमानभन्दा पनि धेरै हो । अघिल्लो वर्षको तुलनामा पनि यो ४१ प्रतिशत धेरै हो । अहिले भारतमा कम्पनीका ६ हजार सवारी साधनको अर्डर पूरा हुन बाँकी छ । डेलिभरीका लागि कुर्नु पर्ने अवधि चार देखि नौ महीना रहेको छ ।
अर्थतन्त्रमा आइरहेको स्वस्थ्य पुनःबहाली र कम्पनीहरूको आम्दानीमा भएको वृद्धिले मागलाई टेवा दिएको छ । भारतमा लक्जरी कार क्रेताहरुको उमेर घट्दै गइरहेको छ । मर्सिडिज बेञ्जमा एस–वर्गको उपभोक्ताको औसत उमेर ३८ वर्ष छ । सी–वर्गका क्रेताको उमेर ३५ वर्ष छ । आधा दशक अघि यो उमेर ४५ वर्ष भाथि थियो ।
तलबी पेशाकर्मी र महिला क्रेताहरूको संख्या पनि बढ्दो छ । कूल विक्रीमा यिनीहरूको अनुापत १२ प्रतिशत र १५ प्रतिशत छ । पाँच वर्ष अघि यो दुबैको अनुपात ५ प्रतिशतभन्दा कम थियो । बीएमडब्ल्यू इन्डियामा पनि विक्री ३५ प्रतिशतले बढेको छ । गएको वर्ष कम्पनीले ११ हजार ९८१ थन कार बेचेको छ । भारत विश्वकै सबैभन्दा धेरै अर्बपति जनसंख्या भएको देशमध्ये पर्दछ । अटो बजारमा लक्जरी सवारी साधनको हिस्सा २ प्रतिशतभन्दा कम छ । यो प्रमुख अर्थतन्त्रमा सबैभन्दा कम हो । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।