काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता भएको छ । सोमवार दुई बैंकबीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा लक्ष्मी बैंकको तर्फबाट अध्यक्ष रमण नेपाल तथा सनराइज बैंकको तर्फबाट अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गरेका हुन् । दुई बैंकबीच डीडीएअनुसार स्वाप रेसियो कायम गर्ने सहमतिबमोजिम प्रारम्भिक सम्झौता भएको हो । यी दुई कम्पनी समान हैसियतमा गाभिने अनुमान जानकारहरूको भए पनि कम्पनीहरूले भने डीडीएअनुसार स्वाप रेसियो कायम गर्ने बताएका छन् । मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुने बैंकहरूको भनाइ छ ।
हाल लक्ष्मी बैंकको चुक्तापूँजी रू. ११ अर्ब ५५ करोडभन्दा बढी छ भने सनराइज बैंकको रू. १० अर्ब ११ करोडभन्दा बढी रहेको छ । दुई बैंक समान हैसियतमा गाभिने अवस्था आए चुक्तापूँजी रू. २१ अर्ब ६६ करोडभन्दा बढी कायम हुनेछ । दुवै बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।