काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुस २५ गतेदेखि विक्रीमा ल्याएको १० वर्षे अवधिको ऋणपत्र माघ ९ गतेसम्म विक्रीमा रहने भएको छ । यो अवधिभित्र मागबमोजिम आवेदन प्राप्त भएमा कुनै पनि दिन विक्री बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो । यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अद्र्धवार्षिक र दोस्रो अद्र्धवार्षिक समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गरिनेछ ।
कम्पनीले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।
सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर नेपालले कम्पनीलाई न्यून कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल ए माइनस रेटिङ प्रदान गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।