कठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले गत पुस १९ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने मिति पुनः थप गरेको छ। कम्पनीको आईपीओमा अव स्थानीयले माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको आईपीओमा यसअघि माघ १० गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको थियो। तर, माग बमोजिम आवेदन प्राप्त नभएकोले पाँच दिन थप गरिएको कम्पनीले बताएको छ।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासनमा ल्याएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिने शेयरमध्ये पाँच प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने, बाँकी पाँच प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।
कम्पनीले ओखलढुङ्गामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले २०७४ चैत १२ गतेदेखि उक्त आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू. २० करोडभन्दा बढी छ भने आयोजनाको कूल अनुमानित लागत रू. १ अर्ब ४५ करोडभन्दा बढी छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।