प्रभु इन्स्योरेन्ससहित तीन कम्पनीको शेयर कारोबार फुकुवा, बिहीवारदेखि कारोबारमा आउने

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ ।

प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा गरिएको हो । यी तीनओटै कम्पनीको आधारभूत शेयरधनीबाहेक शेयरधनीहरूको शेयर कारोबार फुकुवा गरिएको हो । अब यी कम्पनीको बिहीवारदेखि शेयर खरीदविक्री गर्न मिल्नेछ । 

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच मर्जर गर्ने सम्झौता भंग भई गत पुस २६ गतेको पत्रअनुसार नेपाल बीमा प्राधिकरणबाट समेत सैद्धान्तिक स्वीकृति रद्द भएको हुँदा नेप्सेले रोक्का रहेको प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । 

त्यस्तै सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभिने सहमतिपत्रमा हस्ताक्षर भएसँगै गत असार ३० गतेदेखि दुवै कम्पनीको शेयर कारोबार रोक्का थियो ।

हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार एकीकृत कारोबारपछि मात्र बढीमा १५ दिनमात्र रोक्का गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै रोक्का रहेका कम्पनीहरूले कारोबार फुकुवाको प्रक्रिया अघि बढाएका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।