काठमाडौं । गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेका ७५ वर्षीय डम्बर गिरी पाँच वर्षदेखि आँखाको समस्याबाट पीडित थिए । गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा उनले आँखा जाँच गराउँदा मोतियाविन्दुको समस्या पहिचान भयो । जिल्ला सदरमुकाम तम्घासमा उनको आँखाको निःशुल्क उपचार भयो ।
बिहीवार बिहान शल्यक्रिया भएपछि आँखा देखेका गिरी संसार देख्न पाएकोमा खुशी छन् । “पाँच वर्षदेखि संसार देख्न पाएको थिइनँ, अहिले नयाँ संसार देखेँ, पुर्नजन्म पाएँ जस्तो भएको छ”, उनले भने ।
मालिकाकै ७४ वर्षीया शान्ति सुनारले पनि आर्थिक अभावका कारण आँखाको उपचार गर्न सकेकी थिइनन् । निःशुल्क शिविर आएपछि जाँच गराउँदा आँखामा मोतियाविन्दुको समस्या देखियो । गाउँपालिकाको सहयोगमा उनको पनि तम्घासमा निःशुल्क उपचार भयो । मोतियाविन्दुको शल्यक्रियापछि गाउँपालिका भगवान् बनेर आएको उनले बताइन् । “फेरि संसार देख्छु भन्ने कल्पना पनि गरेको थिइनँ, तर उपचारपछि पुनः संसार देख्न सक्ने भएकी छु”, उनले भनिन् ।
सो गाउँपालिका–३ का मनबहादुर विक र तुल्सा विक पनि आँखाको समस्याबाट ग्रसित थिए । सात वर्षदेखि समस्या खेपिरहनुभएका विक दम्पती सो शिविरबाट आँखाको उपचार भएपछि खुशी छन् । “बुढाबुढीले नै आँखा नदेखेर समस्या झेल्नुपरेको थियो”, मनबहादुरले भने, “आँखा खुलेपछि हामीले एकअर्कालाई हेर्दा खुशीका आँशु खसे ।” निःशुल्क उपचार पाएपछि विपन्नलाई निकै राहात पुगेको उनले बताए ।
उनीहरुसँगै मालिकाका ६१ जनाको आँखाको निःशुल्क उपचार गरिएको छ । प्रत्येक वडामा गरिएको निःशुल्क आँखा शिविरबाट मोतियाविन्दुको समस्या भएका ६१ जना वृद्धवृद्धाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख वसन्त भुसालले जानकारी दिए । शिविरमा १ हजार छ सय आँखाका बिरामीको उपचार गरिएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले स्वास्थ्य क्षेत्रमा आफूहरु संवेदनशील भएर अगाडि बढेको बताए । उनले निःशुल्क आँखा शिविरसँगै अब मुटु तथा अन्य दीर्घरोगीका बिरामीको लागि शिविर चलाउने बताए ।
मालिकासँगै जिल्लाको रेसुङ्गा नगरपालिका, इस्मा र गुल्मीदरबार गाउँपालिकाले पनि आँखाको निःशुल्क उपचार गर्दै आएका छन् । नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीको प्राविधिक सहयोगमा मोतियाविन्दुको समस्या पहिचान गरी शल्यक्रिया गरिएको हो । रेसुङ्गाले यसअघि शिविर सञ्चालन गरी ५९, इस्मा गाउँपालिकामा ३० तथा गुल्मीदरबार गाउँपालिकाका २२ जनाले आँखाको शल्यक्रिया गराएका थिए । -रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।