काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ ।
फागुन २ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उल्लेखित प्रस्तावसँगै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ ।
साथै लक्ष्मी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजको आधारमा फागुन १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।