नेपाल टेलिकमको वाईफाई प्रतिघण्टा १० रुपैयाँमा

Share News

नेपाल टेलिकमले विगत केही महीनादेखि देशका विभिन्न स्थानका आफ्ना ‘हटस्पट’मार्फत निःशुल्क रूपमा दिँदै आएको वाईफाई सेवा सशुल्क बनाएको छ । शुरूमा परीक्षणका लागि निःशुल्क वितरण गर्दै आएको इण्टरनेट सेवा सफल भएपछि टेलिकमले त्यसलाई सस्तोदरको इण्टरनेट ‘प्याकेज’मा परिणत गरेको हो । टेलिकमले हटस्पटका माध्यमबाट राजधानीका विभिन्न स्थानमा निःशुल्क उपलब्ध गराउँदै आएको इण्टरनेटको समयावधि गत चैत मसान्तबाट सकिएको थियो । उक्त समयावधि सकिनेबित्तिकै उसले सोही स्थानमा सशुल्क सेवा योजना ल्याएको हो । आम प्रयोगकर्ताको मागलाई ध्यानमा राखी टेलिकमले फागुन मसान्तबाट चैत्र मसान्तसम्म १ महीना निःशुल्क वाईफाई सेवाको अवधि थप गरेको थियो ।

टेलिकमको उक्त नयाँ योजनाअनुसार ग्राहकले अब वाईफाई चलाउन प्रतिघण्टा रू. १० तिर्नुपर्ने हुन्छ, जसअनुसार अब अनुरोधका आधारमा ग्राहकले आफ्नो मोबाइलको ‘म्यासेज बक्स’मार्फत प्राप्त गरेको पासवर्ड प्रयोग गरी एकैपटक वा पटकपटक गरी १ घण्टासम्म इण्टरनेट चलाउन सकिने नेपाल टेलिकमले बताएको छ । तर, ‘युजर नेम’ तथा ‘पासवर्ड’ प्राप्त भएपछि २४ घण्टाभित्र यो सेवा प्रयोग गरिसक्नु पर्नेछ ।

यो सेवाका लागि सबैभन्दा पहिले नेपाल टेलिकमको जीएसएम पोष्टपेड तथा प्रिपेडबाट वाईफाई टाइप गरी १४१६ मा म्यासेज पठाउनुपर्ने हुन्छ । म्यासेज पठाएको केही समयपछि प्रयोगकर्ताको मोबाइलमा प्राप्त हुने पासवर्ड आफ्नो मोबाइल, ट्याब तथा ल्यापटपको वाईफाई मेनुमा गई नेपाल टेलिकमको वाईफाई ‘कनेक्ट’ गर्न सकिन्छ ।  टेलिकमको वाईफाईमा कनेक्ट भइसकेपछि कुनै वेबपेज खोल्नुपर्ने हुन्छ । सो वेबपेजमा देखापर्ने ‘युजर नेम’ बक्समा प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बर तथा पासवर्डमा यसअघि प्राप्त (म्यासेज बक्समा) पासवर्ड टाइप गरी इण्टरनेट चलाउन सकिन्छ ।

हाल काठमाडौंको गोङ्गबु बसपार्क, लाजिम्पाट चोक उत्तरढोका, धरहरा क्षेत्र, नयाँ बानेश्वर चोक, कुपण्डोल क्षेत्र, सीतापाइला चोक, एक्मी इञ्जिनीयरिङ कलेज, हेल्पिङ ह्याण्ड कम्युनिटी हस्पिटल चावहिल, बयोधा हस्पिटल बल्खु, स्टार हस्पिटल बल्खु, मनमोहन स्मृति हस्पिटल, भृकुटीमण्डप, नसिर्ङचोक ठमेल, वीर हस्पिटल, गङ्गालाल हस्पिटल, टिचिङ हस्पिटल, काठमाडौं इञ्जिनीयरिङ कलेज, काठमाडौं मेडिकल कलेज हस्पिटल सिनामङ्गल, राष्ट्रिय वाणिज्य बैङ्क केशरमहल, पाटन हस्पिटल, मङ्गलबजार ललितपुर चेम्बर अफ कमर्श क्षेत्र, ख्वपः इञ्जिनीयरिङ कलेज, भक्तपुर दरबार स्क्वायर, नगरकोट, त्रिवि पुस्तकालय कीर्तिपुर, बीपी कोइराला लायन सेण्टर महाराजगञ्ज, कान्तिपुर इञ्जिनियरिङ कलेज धापाखेल, नेपाली काङ्ग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपा, एमाले पार्टी कार्यालय बल्खु, त्रिभुवन पार्क थानकोट, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललगायत नेपाल टेलिकमका ‘हटस्पट जोन’ हुन् । आगामी दिनमा यस्ता क्षेत्र बढाउँदै लगिने पनि टेलिकमले बताएको छ । त्यस्तै, उपत्यकाबाहिरका क्षेत्रमा समेत यो सेवा विस्तार गर्ने टेलिकमको योजना छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।