काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा भोलि बिहीवार हुँदै छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीले बिहीवार साधारण सभा आयोजना गरेका हुन् ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १८औं वार्षिक साधारण सभा अमृतभोग क्याटरिङ कालिका स्थान डिल्ली बजार, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले यस कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।
त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले लुम्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जरसम्बन्धी प्रस्तावहरू पारित गर्नेछ ।
कम्पनीमा संस्थापक शेयरधनी समूहअन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पीएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमतिबमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१ प्रतिशत शेयरमध्ये २० प्रतिशत शेयर समानुपातिक रूपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।