नेपालमा तेस्रोपटक सफल भयो मुटुको 'डी-टीजीए' शल्यक्रिया, ३५ दिने शिशुले पाइन नयाँ जीवन

Share News

चितवन । नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डी–टीजीए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज)को शल्यक्रिया सफल भएको हो ।

चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा. डा. अनिल आचार्य नेतृत्वको टोलीले शिशुको सफल शल्यक्रिया गरेको हो ।

डिटिजिए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा. डा. आचार्यले बताए । उनले भने, “मलाई थाहा भएसम्म नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो हो । यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुन्छ ।”

उनका अनुसार मानिसको मुटुको तल्लो दाहिने कोठाबाट फोक्सोमा रगत जाने रक्तनली हुने र देब्रेतिरको तल्लो कोठाबाट शरीरमा रगत जाने रक्तनली हुन्छन् । दाहिनेतर्फ फोक्सोमा गएको रगत शुद्ध भएपछि देब्रे कोठामा आएर देब्रे कोठाले शुद्ध रगत शरीरमा पठाउनुपर्नेमा शिशुको रक्तनली ठीक उल्टो भएको उनले बताए ।

यस्तो प्रकृतिको शल्यक्रियामा कोरोनरी आर्टरिजका नलीहरूको समेत ठाउँ बदल्नुपर्ने जनाउँदै प्रा. डा. आचार्यले भने, “त्यो पनि हामीले ठाउँ बदल्यौँ ।” महिमामा अब कुनै समस्या नरहेको उनको भनाइ छ । 

नवजात शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्न निकै जटिल हुने भन्दै उनले त्यसमाथि मुटुजस्तो संवेदनशील अङ्गको शल्यक्रिया झनै जटिल हुने बताए ।  गत माघ २३ गते अस्पताल भर्ना भएकी महिमाको २५ गते शल्यक्रिया गरिएको हो ।

शल्यक्रियामा प्रा. डा. आचार्यसहित डा. अल्का सिंह, एनेस्थेसियोलोजिष्ट डा. प्रवेश ज्ञवाली, परफूजनिस्ट (शल्यक्रिया गर्दा मुटु र फोक्सो चलाउने मेसिन सञ्चालन गर्ने) गोविन्द बधनगरिया, बालरोग विशेषज्ञ डा. विराज पराजुली र नर्सहरूको टोली संलग्न थियो ।

भरतपुर अस्पतालका चिकित्सकले निमोनियाको शङ्का गरेर महिमालाई सिफारिस गरेका थिए । बीस दिन एनआइसीयूमा राखेर उपचारपछि महिमा अहिले पूर्णरूपमा निको भएकी छिन् । उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

यसैबीच खेती किसानी र ज्याला मजदुरी गर्ने मिलनलाई छोरीको उपचार गर्न आर्थिक अभाव भएको छ । हालसम्म पाँच लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको जनाउँदै उनले सरसापट गरेर उपचार गर्दै आएको बताए । काठमाडौँमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र  मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १५ वर्षमुनि र ७५ वर्षमाथिकालाई मुटुको उपचार निःशुल्क हुने भए पनि उपत्यका बाहिर भने यो सुविधा सरकारले दिएको छैन । -रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।