दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने समय थप

Share News

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि फागुन ८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरी चैत ७ गतेसम्म थप गरेको छ ।

वैदेशिक रोजगारीमा रहेको नेपालीका लागि भने आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर रू. १०० दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो ।  

सोमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गाविसमा स्थायी बसोबास गर्ने स्थानीयहरूको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानीय बासिन्दाहरूका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ । 

यसका साथै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने रू. १ करोड ७ लाख २९ हजार ८०० बराबरको प्रतिशेयर रू. १०० अंकित दरका १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगाररत नेपालीका लागि निष्कासन गरिएको हो । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । 

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयर अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।