पपुपा न्युगिनीमाथि नेपालको सानदार जित, आसिफको अर्धशतकमा ७.४ ओभरमै भेट्टायो लक्ष्य

Share News

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग -२ को तेस्रो खेलमा नेपालले सानदार जित निकालेको छ ।

सन्दिप लामिछानेले फेरि एकपटक ५ विकेटको प्रदर्शन गरेपछि ९६ रनको लक्ष्य पाएको नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको हो । ९६ रनको लक्ष्य पच्छ्याएको नेपालले ७ दशमलव ४ ओभरमा १०० रन जोडेको छ । नेपालका लागि आसिफ शेखले २१ बलमा ५३ रनको अविजित पारी खेल्दा कुशल भुर्तेलले १३ बलमा ३३ रन बनाएर आउट भएका थिए । कुशल मल्ल १३ बलमा १२ रनमा नटआउट रहे ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीलाई  ९५ रनमै रोकेको थियो।  नेपालका लागि सन्दिप लामिछानेले १० ओभरमा १ ओभर मेडन राख्दै २५ रन मात्र खर्चिएर  ५  विकेट  लिएका थिए । ललित राजवंशी  र कुशल मल्लले २/२ विकेट लिंदा सोमपाल कामीको नाममा  १ विकेट रहेको थियो ।

१० ओभरमा  २५ रन खर्चेर ५ विकेट लिएका सन्दिप लामिछाने  खेलको म्यान अफ द म्याच भएका छन् । पछिल्लो ११  खेलमा १० खेल खेलेका लामिछाने नेपालले १०  खेल जित्दा पहिलोपटक म्यान अफ  द म्याच भएका हुन् । उनले १० खेलमा २९ विकेट लिएका छन् ।

पपुवा न्युगिनीका लागि अस्सद भालाले सर्वाधिक २० रन जोड्दा सेसे बाउले १८, चार्लेस अमिनीले १६ र हिरि हिरिले १४ रन जोडे । अन्य कुनै पनि ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । बलिङ तर्फ पपुवा न्युगिनीका सोपरले २ दशमलव ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । कवुवा मोरेराले १ ओभरमा  २६ रन  खर्चिए भने  चारलेस अमिनिले २ ओभरमा १७, हेकुरेले १ ओभरमा १५ र अस्सद भालाले १ ओभरमा १२ रन खर्चिए ।

अव नेपालले श्रृङ्खलाको अन्तिम खेल यूएई  विरुद्ध बिहीवार खेल्ने छ । उक्त खेल जितेमा  नेपाल विश्वकपको ग्लोबल छनौटमा सहभागी हुन पाउने  छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।