पर्वत । दुई वर्षभित्र कालोपत्र गरिसक्ने लक्ष्यसहित शुरू गरिएको कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वत खण्डको काममा ढिलाइ भएको छ । जिल्लाको फलेवास नगरपालिकाको ढिकदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्मको खण्डमा अझै ट्र्याक खोल्न सकिएको छैन । कडा चट्टान भएकाले उक्त खण्डमा ट्र्याक खोल्न कठिन भएको हो ।
२०७७ फागुन १६ मा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वत खण्डको सडक कालोपत्र गर्ने कामको शिलान्यास गरेका थिए । तर मुडिकुवादेखि अर्मादीसम्मको खण्ड विस्तार हुन सकेको छैन ।
करीब १५ किलोमिटर खण्डको ट्र्याक खोल्नै समस्या भइरहेको भए पनि समग्रमा हालसम्मको भौतिक प्रगति ९० प्रतिशत पुगेको कालीगण्डकी कोरिडोरअन्तर्गत गैंडाकोट–रामदी–मालढुंगा खण्डको पाल्पास्थित कार्यालयका प्रमुख शंकर पौडेलले बताए । ठेकेदारले ट्र्याक खोल्ने काम अन्तिम पुर्याएको उनको भनाइ छ ।
‘अर्मादी मुडिकुवाको ट्र्याक खोल्ने काम अन्तिम चरणमा छ । यो ठेक्का साधारण ट्र्याक बनाउन मात्र हो । यो काम सकिएपछि कालोपत्रसम्मको कामका लागि अर्को टेन्डर आह्वान गर्नुपर्छ । यो भागमा काम गर्न एकदम चुनौतीपूर्ण छ,’ पौडेलले भने, ‘मोदीवेणी धाममा रहेको नृसिंहधाम मन्दिरदेखि अर्मादीतर्फ जानेतर्फको काम गर्न सकस भयो ।’
सूर्य कन्स्ट्रक्सनले जिम्मा लिएको सडकको ट्र्याक केही महीनायता खुलाउने काम भइरहेको छ । ट्र्याक खोल्ने जिम्मा लिएका व्यवसायी दीपक रैसवालले लगातार काम भइरहेको दाबी गरे । भीरको चट्टान काट्ने क्रममा माथिबाट झर्ने ठूला ढुंगाले अप्ठ्यारो पारिरहेको उनले बताए । मोदीवेणी धामदेखि अर्मादीतर्फको भागमा रहेका कठिन स्थानमा ट्र्याक खुलाउने काम लगभग सकिन लागेकाले आफ्नो जिम्माको काम पूरा गर्न धेरै समय नलाग्ने उनको भनाइ छ ।
आयोजना कार्यालयले भने चालू वर्षमा ढिक–अर्मादीको १४ किलोमिटरबाहेक पर्वत खण्डमा पर्ने २८ किलोमिटर सडक कालोपत्र सकिने दाबी गरेको छ । ढिक–अर्मादी खण्ड मापदण्डअनुसार पूरा भएपछि मात्र विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन लगायत काम सकेर बजेट माग गरिने आयोजना कार्यालयले बताएको छ ।
उक्त काम आगामी वर्ष मात्र शुरू हुनेछ । फलेवास खण्डमा रोकिएको काम अघि बढाउन आयोजना प्रमुख र व्यवसायीलाई पटक पटक आग्रह गरेको फलेवासका नगरप्रमुख गंगाधर तिवारीले बताए । पर्वतका मुख्य बस्ती समेट्ने यो सडकले दक्षिणका एक नगरपालिका र तीन गाउँपालिकाको बस्ती जोड्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।