दोल्ती पावरको आईपीओ आजदेखि विक्रीमा, कस्तो छ त कम्पनीको समग्र अवस्था ?[भिडियोसहित]

Share News

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आज अर्थात् चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा आईपीओ बाँडफाँट गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागिएको हो । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १ लाख ४१ हजार ८२० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता शेयर कम्पनीले बाँडफाँट गरेको हो । स्थानीयका लागि कम्पनीले ५ लाख ३६ हजार ४८६ कित्ता शेयर विक्री खुला गरेको थियो । स्थानीयमा वितरण हुन नसकेको बाँकी शेयरसमेत सर्वसाधारणमा थप गरी विक्री गर्न लागिएको हो ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत दरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीका कर्मचारीका लागि छुट्याएको शेयर समेत बाँडफाँट गरिसकेको कम्पनीले सामूहिक लगानीकोषका लागि ६८ हजार १७ कित्ता शेयर सुरक्षित गरी बाँकी १२ लाख ७१ हजार ८६१ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ विक्री बन्द छिटोमा आगामी वैशाख ३ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि आगामी वैशाख १२ गतेसम्म विक्री लम्बिनेछ । तर, सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको छ । यस आधारमा कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । 

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । । इक्रा नेपालले इक्रा एनपी इस्यूअर त्रिपल ए देखि इक्रा एनपी इस्यूअर डी सम्मको रेटिङ प्रदान गर्ने गर्दछ । इक्रा नेपालले प्रदान गर्ने इक्रा एनपी इस्यूअर त्रिपल ए रेटिङले सबैभन्दा कम जोखिम अर्थात उच्च सुरक्षित गरेको संकेत गर्दछ भने इक्रा एनपी इस्यूअर डी रेटिङले सबैभन्दा बढी जोखिम रहेको संकेत गर्दछ । 
कम्पनीको परिचय :
२०६९ साल चैत २५ गते प्राइभेट लिमिटेडको रुपमा दर्ता भएको यो कम्पनी २०७८ साल असार ३१ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । कम्पनीको रजिष्टर्ड कार्यालय थापागाउँ नयाँ बानेश्वर , काठमाडौंमा रहेको छ । हाल यस कम्पनीमा ५५ जना संस्थापक सदस्यहरू रहेका छन् ।

कम्पनीको संस्थापक शेयरधनीहरू विद्युत् तथा उर्जा, बैंक तथा वित्तीय, स्वास्थ्य, शैक्षिक क्षेत्र एवम् व्यापार व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरू रहेका छन् । कम्पनीले दैलेख जिल्लामा ४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ ।

२०७७ साल फागुन ८ गतेदेखि व्यापारिक उत्पादन गर्ने मिति तय गरिएको उक्त आयोजनाबाट निर्धारित अवधिभन्दा अगाबै २०७६ साल पुस ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्न कम्पनी सफल भएको हो ।४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला जलविद्युत् आयोजनाको कुल निर्माण लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ । यस आयोजनको विद्युत् उत्पादन अनुमति पत्र बहाल रहने अवधि २१०९ साल असोज २८ गतेसम्म रहेकाले अझै ३० वर्ष बाँकी रहेको छ । 
पूँजी संरचना :
अधिकृत पूँजी ६० करोड रूपैयाँ रहेको यस कम्पनीको जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रूपैयाँ छ । कम्पनीमा हाल संस्थापक शेयरधनीहरूबाट चुक्ता भएको पूँजी ३७ करोड ५५ लाख ४० हजार २०० रूपैयाँ छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५३ करोड ६४ लाख ८६ हजार रूपैयाँ कायम हुनेछ । संस्थापक तर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा ३० प्रतिशत शेयर वितरण गर्न लागेको हो । 
वित्तीय अवस्था एवम् प्रक्षेपण :
२०७६ साल पुस ८ गतेदेखि विद्युत् विक्री गर्दै आएको यस कम्पनी अझै सञ्चित नोक्सानीमै रहेको छ । आर्थिक वर्ष २०७८÷०७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४ करोड ७७ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको हो । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ८७ रूपैयाँ छ ।

चालू आर्थिक वर्ष २०७९/०८० सम्म सञ्चित नोक्सानी घटाएर ३ करोड ५८ लाख रूपैयाँभन्दा बढीमा झार्ने प्रक्षेपण कम्पनीको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ सम्ममा सञ्चित नोक्सानी घटाएर १ करोड ५८ लाख रूपैयाँमा झार्ने पक्षेपण गरेको कम्पनीले आर्थिक वर्ष २०८१/ ०८२ मा भने ९८ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने लक्ष्य लिएको छ ।
सञ्चालक समिति :
कम्पनीको नियमावलीमा पाँच जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ । संस्थापक शेयरधनीबाट तीन जना, सर्वसाधारण शेयरधनीबाट एक जना र स्वतन्त्रबाट एक जना सञ्चालक रहने व्यवस्था कम्पनीको नियमावलीमा रहेको हो । हाल कम्पनीमा तीन जनाको सञ्चालक समिति रहेको छ ।

हाल स्वतन्त्र सञ्चालकको पद समेत रित्त रहेको जानकारी कम्पनीले दिएको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा मिरा गौतम रहेकी छिन् । कम्पनीको संस्थापक तर्फको ४ लाख ३९ हजारभन्दा बढी कित्ता शेयर स्वामित्व कायम गरेकी गौतम विगत लामो समयदेखि विभिन्न जलविद्युत् क्षेत्रका कम्पनीहरूमा प्रत्यक्ष संलग्न भई सक्रिय भैरहेकी छिन् । कम्पनीको सञ्चालकहरूमा सकुन्तला बोगटी र क्याप्टेन मेनिट केसी दाहाल रहेका छन् ।
धितोपत्र दोस्रो बजारमा कम्पनीको आईपीओले कति पाउला मूल्य ?
धितोपत्र प्राथमिक बजारमा विक्री भएको कम्पनीको आईपीओ कारोबारका लागि भने धितोपत्र दोस्रो बजार नेप्सेमा सूचीकृत हुनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारमा आउने कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य नेप्सेले निर्धारण गर्नेछ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज तोक्नेछ ।

यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता ८७ रूपैयाँदेखि अधिकतम प्रतिकित्ता २६१ रूपैयाँसम्मको मूल्य रेञ्ज नेप्सेले पहिलो कारोबारका लागि तोक्ने देखिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।