काठमाडौं । कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँट भएको छ । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने यस योजनाको प्रथम पटक सार्वजनिक निष्कासनमार्फत ३ करोड ५० लाख इकाई चैत ९ गतेदेखि चैत २३ गतेदेखि विक्री गरिएको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई माग बमोजिमनै चैत २९ गते इकाई बाँडफाँट गरिएको हो । योजनाले प्रतिइकाई रू. १० अंकित मूल्यका १० करोड इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक कुमारी बैंकका लागि सुरक्षित गरेको छ ।
खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि १० करोड इकाई विक्री गर्न क्यापिटलले अनुमति पाएको थियो । कुल इकाईमध्ये रू. ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक विक्री गरिएको हो । क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ३ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।
यस योजना व्यवस्थापक कुमारी क्यापिटलले दोस्रो वर्षदेखि इकाईधनीहरूलाई लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । क्यापिटलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस योजनाबाट लगानीकर्ताले दोस्रो बर्ष पश्चात् ८ प्रतिशत, अनि तेस्रो र चौथो वर्षमा १० प्रतिशत तथा पाँचदेखि १० वर्षसम्म वार्षिक १५ प्रतिशतका दरले लाभाशं प्रतिफल पाउने प्रक्षेपण गरिएको जानकारी दिएका छन् ।
खुलामुखी प्रकृतिको योजना रहेकाले यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनेछैन । योजना व्यवस्थापक आफै वा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १६ बमोजिम वितरकका रुपमा तोकिएको कुनै बैंक तथा वित्तीय संस्थाहरु वा मर्चेन्ट बैंकरहरूमार्फत दैनिक रुपमा इकाई खरीदविक्री गर्न सकिनेछ ।
पहिलो चरणको निष्कासन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महीनाभित्र यो योजनाको इकाई निरन्तर निष्कासन तथा विक्रीको लागि खुला गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।