काठमाडौं । नेपालले एसीसी मेन्स प्रिमियर कपमा सुखद शुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार सम्पन्न उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्यो । २३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६ दशमलव २ ओभरमा २३७ रन बनायो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाए । यस्तै, कुशल मल्ल ७० रनमा अविजित रहे । कप्तान रोहित पौडेलले ४२ रनको योगदान दिँदा कुशल भुर्तेलले ३८ रनको पारी खेले ।
बलिङमा मलेसियाका मुहम्मद वाफिक, रिजवान हैदर, विरनदीप सिंह र विजय उन्नीले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन जोडेको थियो । कप्तान अहमद फैज र विरनदीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको थियो । फैजले टिमका लागि सर्वाधिक ७६ रन बनाउँदा सिंहले ४६ रनको योगदान दिएका थिए ।
बलिङमा नेपालका तर्फबाट सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन विकेट लिँदा ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए ।
नेपालले पछिल्लो पाँच खेलमा मलेसियालाई पराजित गरेको छ । यसअघि मलेसिया र नेपालले सन् २०१८ मा एसिया कपको छनोट खेल खेलेका थिए । त्यसबेला नेपालले मलेशियालाई उसको घरेलु मैदानमा १९ रनले पराजित गरेको थियो ।
नेपालमा अहिले भइरहेको एसीसी प्रिमियर लिगमा १० देश सहभागी छन् । सहभागीहरूलाई दुई समूहमा राखिएको छ । समूह ‘ए’मा नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई छन् । यी दुई समूहका शीर्ष दुई/दुई टिमले सेमिफाइनल खेल्नेछन् । त्यसपछि हुने फाइनलमा विजयी हुने राष्ट्र यसै वर्ष सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा जानेछ । यस्तै समूहका शीर्ष तीन टोलीले एसीसी इमर्जिङ कप खेल्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।