वैशाख १३ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै ईङवा हाइड्रोपावर 

Share News

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले वैशाख १३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै छ । पहिलो चरणको आईपीओ विक्री तथा बाँडफाँटपछि कम्पनीले दोस्रो चरणको आईपीओ जारी गर्न लागेको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ३ लाख ६ हजार ८४० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख २० हजार कित्ता शेयर बाँडफाँट गरेको छ । 

आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशत दरको ६ लाख कित्ता शेयर विक्री खुला गरिएकोमा २ लाख ९३ हजार १६० कित्ता शेयर भने वितरण हुन सकेको थिएन । स्थानीयमा वितरण हुन नसकेको उक्त शेयरसमेत थप गरी कम्पनीले सर्वसाधारणमा विक्री गर्न लागेको हो । स्थानीयमा विक्री हुन नसकेको शेयरसमेत गरी सर्वसाधारणमा कुल १४ लाख ९३ हजार १६० कित्ता शेयर वितरण हुनेछ ।

सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत दरको आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ७४ लाख ६५८ कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ । अब २९ हजार ८६३ कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी १२ लाख ६८ हजार ६३९ कित्ता शेयर सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । विक्री अवधि छिटोमा वैशाख १७ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि वैशाख २७ गतेसम्म विक्री लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधिसम्म मात्र विक्रीमा रहने देखिन्छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

साथै आवेदनका लागि मेरो शेयर सफ्टवेयर र एपसमेत प्रयोग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । 

कम्पनीले ताप्लेजुङ जिल्लामा ९ दशमलव ७ मेगावाट क्षमताको ईङवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट २०७९ जेठ १ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य रहेकोमा कोभिडको कारण समयमै मालसामान आयात हुन नसकेपछि २०८० जेठ १६ गतेदेखि पूणर् व्यावसायिक विद्युत् उत्पादन शुरू गर्ने लक्ष्य लिएको छ ।

निर्माण अवधिको ब्याजसहित आयोजनाका निर्माण लागत प्रतिमेगावाट औसत २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ र कुल लागत १ अर्ब ९५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।