काठमाडौं । सिटी होटल लिमिटेड (City Hotel Limited) ले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ (IPO) बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको कुल कित्ता आईपीओमध्ये आरक्षित १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको थियो । कम्पनीले चैत २१ देखि वैशाख ५ गतेसम्म विक्री गरेको १ लाख ६७ हजार ४०० कित्ता शेयर आज विहान बाँडफाँट गरेको हो ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा गएका नेपालीहरूबाट कुल १९ हजार ७ सय ४८ जनाको आवेदन परेको थियो । जसमध्ये १९ हजार ७३९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलको भनाई छ । योग्य आवेदकहरूबाट मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको हो । गोलप्रथाको माध्यमबाट १६ हजार ७४० जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।
पहिलो चरणको आईपीओ बाँडफाँट भएसँगै कम्पनीले दोस्रो चरणको आईपीओ सर्वसाधारण्मा आगामी वैशाख २५ गतेदेखि विक्री गर्नेछ । कम्पनीले आफ्नो जारी पूँजी रू. १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् रू. १६ करोड ७४ लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो । वैदेशिक रोजगारीमा रहेको नेपालीमा शेयर बाँडफाँट गरी बाँकी रहेको शेयरमध्ये पनि ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । यीवाहेक बाँकी १३ लाख ५५ हजार ९४० कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउनेछ ।
सर्वसाधारणा यो आईपीओ छिटो अवधि वैशाख २८ गतेसम्म मात्र विक्रीमा रहनेछ । सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ ।
सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
अधिकृत पूँजी रू. २ अर्ब रहेको कम्पनीको जारी पूँजी रू. १ अर्ब ६७ करोड ४० लाख छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड ६६ लाख छ । संस्थापक तर्फबाट कम्पनीमा जारी पूँजीको ९० प्रतिशत शेयर चुक्ता भएको हो । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६७ करोड ४० लाख कायम हुनेछ ।
कम्पनीले होटल तथा रेष्टुरेष्ट सञ्चालक गर्ने गरी २०७२ चैत १६ गते उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको थियो । हाल होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरू निर्माण भइसकेका छन् । कम्पनीले काठमाडौंको सोल्टिमोडामा पाँच तारे होटल हयात प्यालेस (Hyatt Place Kathmandu) सञ्चालनमा ल्याएको छ ।
यस कम्पनीको स्वामित्वमा रहेका ३ ओटा भवनमध्ये एकमा होटलको भवन, दोस्रोमा ब्याङ्क्वेट हल र तेस्रोमा अपार्टमेन्ट व्यवसायका लागि निर्माण गरिएको छ । अपार्टमेन्ट व्यवसायका लागि निर्माण गरिएको पाँचौदेखि चौधौं तलासम्मको दशओटा अपार्टमेन्टहरू विक्री भइसकको कम्पनीको भनाई छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १३ करोड २४ लाखभन्दा बढी नोक्सानीमा छ । सो अवधिसम्म कम्पनी रू. ८ दशमलव शून्य ९ प्रतिशेयर नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ रू. ७९ दशमलव ०४ छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ भने रू. ८७ दशमलव ८३ छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चैत ५ गते कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति पाएको थियो । हाल धितोपत्र दोस्रो बजारमा होटल तथा पर्यटन क्षेत्रका पाँच कम्पनी मात्र सूचीकृत छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।