ईङवा हाइड्रोपावरको आईपीओ सर्वसाधारणमा आजदेखि कस्तो छ त कम्पनीको समग्र अवस्था ?

Share News

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले वैशाख १३ गते बुधवारदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । पहिलो चरणको आईपीओ विक्री तथा बाँडफाँटपछि कम्पनीले दोस्रो चरणको आईपीओ जारी गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ३ लाख ६ हजार ८४० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख २० हजार कित्ता शेयर बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशत दरको ६ लाख कित्ता शेयर विक्री खुला गरिएकोमा २ लाख ९३ हजार १६० कित्ता शेयर भने वितरण हुन सकेन । स्थानीयमा वितरण हुन नसकेको उक्त शेयरसमेत थप गरी कम्पनीले सर्वसाधारणमा विक्री खुला गरेको हो । 

स्थानीयमा विक्री हुन नसकेको शेयरसमेत गरी सर्वसाधारणमा कुल १४ लाख ९३ हजार १६० कित्ता शेयर वितरण हुनेछ । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत दरको आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ७४ हजार ६५८ कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ । २ प्रतिशत दरको २९ हजार ८६३ कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी १२ लाख ६८ हजार ६३९ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । विक्री अवधि छिटोमा वैशाख १७ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि वैशाख २७ गतेसम्म विक्री लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधिसम्म मात्र विक्रीमा रहने देखिन्छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै आवेदनका लागि मेरो शेयर सफ्टवेयर र एपसमेत प्रयोग गर्न सकिने व्यवस्था छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबलबी इस्युअर रेटिङ प्रदान गरेको छ । 
कम्पनीको परिचय
२०६६ साल असार ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा ईङवा हाइड्रोपावरको नाममा प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भई यो कम्पनी सञ्चालनमा रहेको थियो । आयोजना प्रभावित स्थानायी र सर्वसाधारणको समेत सहभागीता बढाउने उद्देश्यले २०७१ साल भदौ ९ गतेदेखि कम्पनी पब्लिक लिमिटेड कम्पनीमा परिणत भई ईङवा हाइड्रोपावर लिमिटेडको नामबाट सञ्चालनमा रहेको छ ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको थापाथलीमा रहेको छ । यस कम्पनीमा नौ जना संस्थापक शेयरधनीहरू रहेका छन् । कम्पनीले ताप्लेजुङ जिल्लामा ९ दशमलव ७ मेगावाट क्षमताको ईङवाखोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट २०७९ जेठ १ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य रहेकोमा कोभिडको कारण समयमै मालसामान आयात हुन नसकेपछि २०८० जेठ १६ गतेदेखि पूर्ण व्यावसायिक विद्युत्उत्पादन शुरू गर्ने लक्ष्य लिइएको छ । 

निर्माण अवधिको ब्याजसहित आयोजनाको निर्माण लागत प्रतिमेगावाट औसत २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ र कुल अनुमानित लागत १ अर्ब ९५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र बहाल रहने अवधि २०७७ साल मङ्सिर १४ गतेदेखि २११० साल असार २६ गतेसम्म रहेको छ ।
पूँजी संरचना
यस कम्पनीको अधिकृत पूँजी ९७ करोड रूपैयाँ रहेको छ भने जारी पूँजी ६० करोड रूपैयाँ छ । हाल नौ संस्थापक शेयरधनीहरूबाट चुक्ता भएको पूँजी ४२ करोड रूपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा ३० प्रतिशत शेयर बाँडफाँट सम्पन्न भएपछि कम्पनीको चुक्तापूँजी ६० करोड रूपैयाँ कायम हुनेछ ।
वित्तीय अवस्था
आयोजनाबाट व्यापारिक उत्पादन भई नसकेको अवस्थामा कम्पनी सञ्चित नोक्सानीमा रहेको छ । गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी १ करोड १३ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको हो । चालू आर्थिक वर्षको पौष मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी १ करोड १५ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रूपैयाँ २९ पैसा छ । चालू आर्थिक वर्ष ०७९÷८० सम्म भने कम्पनीले २१ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ भने आगामी आर्थिक वर्ष ०८०÷८१ सम्म भने कम्पनीले ९ करोड ८२ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने लक्ष्य गरेको छ ।
सञ्चालक समितिको परिचय
हाल कम्पनीमा तीन सदस्यीय सञ्चालक समिति रहेको छ । सञ्चालक समितिको अध्यक्षमा सतिश न्यौपाने रहेका छन् । जलविद्युत् क्षेत्रमा १८ वर्षको अनुभव बटुलेका अध्यक्ष न्यौपानेसँग कम्पनीको १ लाख ६६ हजार ६२८ कित्ता शेयर स्वामित्व कायम छ । उनको अरुणभ्याली हाइड्रोपावरमा ६ वर्ष, अपि पावर कम्पनीमा ८ वर्ष, रिडी हाइड्रोपावर कम्पनीमा २ वर्ष र कंचनजंघा हाउजिङमा ३ वर्ष काम गरेको अनुभव छ । त्यस्तै कम्पनीको सञ्चालकहरूमा संजिव न्यौपाने र सुमित्रादेवी न्यौपाने रहेका छन् । सुमित्रादेवी न्यौपाने स्वतन्त्र सञ्चालकको रूपमा रहेकी हुन् । सञ्चालक संजिव न्यौपानेसँग पनि जलविद्युत् क्षेत्रमा १८ वर्ष काम गरेको अनुभव छ । सुमित्रादेवी न्यौपाने पनि २५ वर्षदेखि व्यावसायिक क्षेत्रमा सक्रिय रहेकी छिन् ।
कति पाउला आईपीओले दोस्रो बजारमा  खुला मूल्य
धितोपत्र प्राथमिक बजारमा विक्री गरी कम्पनीको यो आईपीओ कारोबारका लागि भने धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गराइनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारमा आउने कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य नेप्सेले निर्धारण गर्नेछ ।

नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज तोक्नेछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता ९७ रूपैयाँ २९ पैसादेखि अधिकतम प्रतिकित्ता २९१ रूपैयाँ ८७ पैसासम्मको मूल्य रेञ्ज नेप्सेले पहिलो कारोबारका लागि तोक्ने देखिन्छ । 

सूचना हर्न यहाँ क्लिक गर्नुहोस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।