काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ जारी गर्ने मिति तय गरेको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने मिति तय गरेको हो । कम्पनीको जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४ दशमलव ९९ प्रतिशत आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।
अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँ बराबरका ४३ लाख ५३ हजार कित्ता शेयर निष्कासन गर्नेछ । कुल कित्ता शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत दरको ४ लाख ३५ हजार ३०० कित्ता शेयर विक्री गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । पहिलो चरणको आईपीओ विक्रीपछि कम्पनीले दोस्रो चरणको आईपीओ जेठ २६ गतेदेखि विक्री गर्ने भएको छ ।
१० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्रीपछि बाँकी शेयरमध्ये पनि ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यीबाहेक बाँकी ३५ लाख २५ हजार ९३० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउनेछ ।
दोस्रो चरणमा सार्वजनिक निष्कासनमा आउने शेयर जेठ ३० गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने असार ८ गतेसम्म विक्री अवधि लम्बिनेछ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागबमोजिम आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओ समेत छिटो अवधिभित्र मात्र विक्रीमा रहने देखिन्छ ।
यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मरो शेयर खातामार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
यस कम्पनीले २०६६ साल वैशाख ११ गतेदेखि नागरिक दैनिक र रिपब्लिका दैनिक पत्रिकाहरू प्रकाशन शुरू गरेको हो । हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ५३ करोड २२ लाख रहेको छ । कुल शेयरपूँजीमा संस्थापकतर्फको ५५ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।