सिटी होटलको आईपीओ आजदेखि, कम्पनीको वित्तीय अवस्था  कस्तो छ

Share News

काठमाडौं । City Hotel Limited ले सर्वसाधारणका लागि आजदेखि आईपीओ जारी गरेको छ । कम्पनीले पहिलो चरण वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा IPO जारी गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको कुल कित्ता IPO मध्ये १० प्रतिशत दरको १ लाख ६७ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको हो । 

कम्पनीले आफ्नो जारी पूँजी रू. १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् रू. १६ करोड ७४ लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो ।

वैदेशिक रोजगारीमा रहेको नेपालीमा शेयर बाँडफाँट गरी बाँकी रहेको शेयरमध्ये पनि ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको छ । यी वाहेक बाँकी १३ लाख ५५ हजार ९४० कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको हो ।

सर्वसाधारणा यो आईपीओ छिटो अवधि वैशाख २८ गतेसम्म मात्र विक्रीमा रहनेछ । सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ । 

सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखाकार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 

अधिकृत पूँजी रू. २ अर्ब रहेको कम्पनीको जारी पूँजी रू. १ अर्ब ६७ करोड ४० लाख रहेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड ६६ लाख छ । संस्थापक तर्फबाट कम्पनीमा जारी पूँजीको ९० प्रतिशत शेयर चुक्ता भएको हो । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६७ करोड ४० लाख कायम हुनेछ । 

यस कम्पनीले होटल तथा रेष्टुरेष्ट सञ्चालन गर्ने गरी २०७२ साल चैत १६ गते नेपाल सरकार, उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको थियो । हाल होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरू निर्माण भैसकेका छन् । कम्पनीले काठमाडौंको सोल्टिमोडामा पाँच तारे होटल ह्यात प्यालेस  सञ्चालनमा ल्याएको छ ।

यस कम्पनीको स्वामित्वमा रहेका ३ ओटा भवनमध्ये एकमा होटलको भवन , दोस्रोमा ब्याङ्क्वेट हल र तेस्रोमा अपार्टमेन्ट व्यवसायका लागि निर्माण गरिएको छ । अपार्टमेन्ट व्यवसायका लागि निर्माण गरिएको पाँचौदेखि चौधौं तलासम्मको दशओटा अपार्टमेन्टहरू विक्री भैसकको कम्पनीको भनाई छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १३ करोड २४ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनी रू. ८ दशमलव शून्य ९ प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७९ दशमलव ०४ रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ भने रू. ८७ दशमलव ८३ रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट चैत ५ गते कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति पाएको थियो । धितोपत्र दोस्रो बजारमा होटल तथा पर्यटन क्षेत्रका हाल धितोपत्र दोस्रो बजारमा होटल तथा पर्यटन क्षेत्रका पाँच कम्पनी मात्र सूचीकृत छन् । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।