असार २० देखि एकीकृत कारोबार गर्दै धौलागिरी र खप्तड लघुवित्त

Share News

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २० देखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । यी दुई कम्पनीले मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गर्ने भएका हुन् । 

दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरेका थिए । गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले जेठ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । 

धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने जानकारी कम्पनीहरूले दिएका छन् । यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्कासन गरेका हुन् । धौलागिरी लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । 

त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय, गण्डकी प्रदेश बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा नम्बर २ बागलुङमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।