धौलागिरी र खप्तड लघुवित्तको वित्तीय कारोबार असार १९ गते बन्द हुने

Share News

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार २० गतेदेखि एकीकृत कारोबार गर्दैछन् ।

गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले सात महीनाभित्र एकीकृत कारोबार शुरू गर्न लागेका हुन् । एकीकृत कारोबारको तयारीस्वरूप असार १९ गते एक दिन दुवै कम्पनीको वित्तीय कारोबार बन्द हुने जानकारी कम्पनीहरूले दिएका छन् ।

दुई कम्पनी एक भई धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय, बागलुङको बागलुङ नगरपालिका वडा नम्बर २ मा रहने जानकारीसमेत कम्पनीहरूले दिएका छन् ।

मर्जर प्रयोजनका लागि दुवै कम्पनीको शेयर कारोबार भने असार २० गतेदेखि बढीमा १५ कारोबार दिन रोक्का रहनेछ । मर्जर तथा प्राप्तिसम्बन्धी पछिल्लो व्यवस्थाबमोजिम एकीकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था छ ।

यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्कासन गरेका हुन् । धौलागिरी लघुवित्तले गत साउन २४ देखि २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । 

त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ देखि १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।