काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन दिनमा पाँच कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।
सेबोनले आइतवारयता हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स र सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
हाथवे इन्भेष्टमेन्टले ५० रुपैयाँ अंकित मूल्यमा २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न असार १७ गते अनुमति पाएको हो । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।
त्यस्तै मिड सोलु हाइड्रोपावरले १४ लाख ९६ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न असार १८ गते अनुमति दिइएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।
त्यसैगरी माण्डु हाइड्रोपावरलाई अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २०६ मा आईपीओ निष्कासन असार १८ गते सेबोनले अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यी दुई हाइड्रोपावर कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दासहित वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ निष्कासन गर्नेछन् । त्यसपछि कम्पनीहरूले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् ।
त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कासन गर्न असार १९ गते सेबोनले अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले ९६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कुल कित्तामध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीको लागि र ४ लाख ८० हजार कित्ता कर्मचारीहरूको लागि छुट्याइएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ ।
त्यसैगरी सिटिजन नेपाल लाइफ इन्स्योरेन्सले अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न सेबोनबाट असार १९ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कुल कित्तामध्ये १० प्रतिशत वैदेशिक रोजगारी गएका नेपालीहरूको लागि छ । त्यस्तै कर्मचारीको लागि ५ लाख ६२ हजार ५ सय कित्ता आईपीओ निष्कासन गरिनेछ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।